आहा-रारा पोखरा गोल्डकपको उपाधिका लागि सहारा र जावलाखेल भिड्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ९, शनिबार ०९:१७

पोखरा । पोखरा रंगशालामा आज शनिबार २५ औं संस्करणको आहा–रारा पोखरा गोल्डकप फुटबलको निकै प्रतिक्षित फाइनल खेल हुँदैछ। उपाधि भिडन्तमा आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुँदैछन्।

सहारा क्लब १२ वर्षपछि उपाधि पुनः घरमै फर्काउने दाउमा छ भने जावलाखेल १४ वर्षपछि फाइनलमा पुगेर पहिलो पटक उपाधि चुम्ने दाउमा देखिएको छ। सहाराले क्वाटरफाइनलमा नेपाल पुलिस र सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब जस्ता बलिया टोलीलाई ‘सडेन डेथ’ मा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। दबाबपूर्ण स्थितिमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता सहाराको मुख्य शक्ति बनेको छ।

Advertisement

यद्यपि, सहाराका लागि फिनिसिङको कमजोरी मुख्य चुनौती रहेको प्रशिक्षक सुनिल राना मगरले स्वीकार गरे। कप्तान सुशील लामा आफ्नै एकेडेमीको उत्पादन भएकाले टोलीमा भावनात्मक उत्साह पनि उच्च छ। प्रशिक्षक मगरले १२ वर्षअघि व्यवस्थापकको रूपमा उपाधि जितेको स्मरण गर्दै यसपटक प्रशिक्षकका रूपमा इतिहास दोहोर्‍याउने दृढता व्यक्त गरे।

अर्कोतर्फ, जावलाखेल युथ क्लब निकै प्रभावशाली लयमा देखिएको छ। उसले मछिन्द्र, चर्च ब्वाइज र सेमिफाइनलमा साविक विजेता उज्वेकिस्तानको आभा एफसीलाई पाखा लगाउँदै फाइनलको स्थान सुरक्षित गरेको हो। उज्बेकी टोलीलाई हराएपछि जावलाखेलका खेलाडीको मनोबल निकै बढेको छ।

जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले आफ्नो टोली सन्तुलित रहेको र फाइनलमा ‘फिनिसिङ’ नै निर्णायक हुने बताए। वि.सं. २०६८ मा उपविजेतामा चित्त बुझाएको जावलाखेल यसपटक त्यो इतिहास बदल्न चाहन्छ। कप्तान युनेश चौधरीले यसपटक टोलीको लक्ष्य पहिलो हुने नै रहेको बताए।

घरेलु मैदान र हजारौँ दर्शकको समर्थन सहाराको पक्षमा रहे पनि जावलाखेल आफ्नो निरन्तरको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ। प्रतियोगिताको विजेताले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। आजको खेलले पोखराको फुटबल इतिहासमा नयाँ विजेताको फैसला गर्नेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.