
काठमाडौं । नेपाली अदुवाको अन्तर्राष्ट्रिय माग बढेसँगै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा यसको निर्यातमा ठुलो सुधार देखिएको छ। भन्सार विभागको ताजा तथ्यांक अनुसार साउनदेखि माघसम्मको अवधिमा नेपालले कुल ७७ करोड ७९ लाख १९ हजार रुपैयाँ बराबरको ९ हजार ६ सय ५६ टन अदुवा विश्व बजारमा निर्यात गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा अदुवा निर्यातको परिमाण झन्डै साढे तीन गुणाले बढेको छ। गत वर्ष ७ महिनामा २ हजार ७ सय १७ टन अदुवा निर्यात गरी ३९ करोड ८४ लाख रुपैयाँ मात्र आम्दानी भएको थियो। यस वर्ष परिमाणमा ६ हजार ९ सय ३९ टन र आम्दानीमा करिब ३८ करोड रुपैयाँले वृद्धि भएको हो।
कुल निर्यातमध्ये सबैभन्दा ठुलो हिस्सा ‘ताजा अदुवा’ को रहेको छ। ७ महिनामा ५६ करोड ६५ लाख रुपैयाँ बराबरको ९ हजार १ सय ६१ टन ताजा अदुवा बाहिरिएको छ। त्यसैगरी १७ करोड ८४ लाख रुपैयाँ बराबरको ३ सय २९ टन सुठो र ३ करोड २८ लाख रुपैयाँ बराबरको अन्य प्रशोधित अदुवा निर्यात भएको विभागले जनाएको छ।
नेपाली अदुवाको मुख्य बजार छिमेकी मुलुक भारत नै रहेको छ, जहाँ ८ हजार ९ सय ३७ टन ताजा अदुवा निर्यात भएको छ। भारतपछि बंगलादेश ताजा अदुवाको दोस्रो ठुलो गन्तव्य बनेको छ। यस्तै, प्रशोधित अदुवा (सुठो) का लागि युरोपेली देश जर्मनी निकै आकर्षक बजारका रूपमा देखिएको छ। जर्मनीमा १६४ टन सुठो निर्यात गरी १४ करोड ७४ लाख रुपैयाँ भित्रिएको छ, जुन मूल्यका हिसाबले निकै उच्च हो। यसका साथै नेपाली अदुवा युनाइटेड अरब इमिरेट्स (यूएई) र अस्ट्रेलियासम्म पुग्न थालेको छ।

























