
विराटनगर । मोरङको रतुवामाई नगरपालिकाको सौँठा माध्यमिक विद्यालयमा पालिका स्तरीय १७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै रतुवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंहले बालबालिकाको खेलप्रतिको लगाव र चौतर्फी विकासका लागि यो प्रतियोगिता एउटा अवसर भएकाले सोही अनुसार नगरपालिकाले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित बनाउने बताए ।
उनले प्रतियोगिता केवल विद्यालयमा सम्पन्न गरिने एउटा वार्षिक गतिविधि मात्र नभई उत्सवका रूपमा मनाउने गरी तयारी गर्न शिक्षक र कर्मचारीलाई आग्रह गरे ।
त्यस्तै, सोही अवसरमा उपमेयर दमयन्ता चुडालले बालबालिकाले घरपछि सबैभन्दा बढी समय विद्यालयमा बिताउने भएकाले र उनीहरूलाई लागुऔषधको कुलतबाट बचाउन विद्यालयले विशेष निगरानी गर्नुपर्ने बताइन् । उनले पछिल्लो दिनमा विद्यालय समयमा लागु औषध सेवन गर्ने बालबालिकाको संख्या बढ्दै गएकाले त्यसतर्फ समेत शिक्षकसहित अभिभावक सचेत हुनुपर्ने जोड दिइन् ।
प्रतियोगिताअन्तर्गत लङजम्प छात्रतर्फ सरस्वती माविका अरुण कुमाल प्रथम, सरस्वती माविका सुदीपकुमार सदा द्वितीय र मुनाल आदर्श बोर्डिङ स्कुलका सेमन तामाङ तृतीय भए । छात्रातर्फ सिजुवा माविकी एलिमा राजवंशी प्रथम, सरस्वती माविकी अमृताकुमारी माझी द्वितीय र राइजिङ बोर्डिङ स्कुलकी दामिनी सहनी तृतीय भए ।
त्यसैगरी, छात्रतर्फ ८ सय मिटर दौडमा मुनाल आदर्श बोर्डिङ स्कुलका करण सिंह प्रथम, सुनवर्षी माविका दीपक राजवंशी द्वितीय र सरस्वती माविका विवेक परियार तृतीय भए । छात्रातर्फ सरस्वती माविकी आरती मगर प्रथम, सुनवर्षी माविकी मनिका पासवान द्वितीय र मुनाल आदर्श बोर्डिङकी अञ्जली साह तृतीय भए ।
यस्तै, सटपुट छात्रातर्फ जनता माविकी निशा राउत प्रथम, मुनाल आदर्श बोर्डिङकी अमिशा ताजपुरिया द्वितीय र सुनवर्षी माविकी उर्मिला तामाङ तृतीय भए । छात्रतर्फ महेन्द्र माविका रविन तामाङ प्रथम, सरस्वती माविका रोशन नेपाली द्वितीय र दाम्राभिट्टा एकेडेमीका कृष्ण साह तृतीय भए ।
१२ गतेसम्म हुने प्रतियोगितामा रतुवामाई नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ ।

























