
विराटनगर । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि समर्थकहरूलाई आर्थिक सहयोग गर्न अपिल गरेकी छन् । नेपाली महिला फुटबलमा गोल मेसिन र ‘साम्बा’ का नामबाट चर्चित स्टार स्ट्राइकर भण्डारीले आफ्नो सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी हुन् ।
उनले आफ्नो उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पछि हटेको आरोप लगाएकी छन् । घुँडाको गम्भीर चोटको उपचारका लागि एन्फाबाट अपेक्षित सहयोग नपाएपछि उनले आम समर्थकहरूसँग आर्थिक सहयोगको अपिल गरेकी हुन् ।
‘पछिल्लो पटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यस बेला आर्थिक र मानसिक रूपमा मलाई कुनै समस्या थिएन, जस कारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ । तर, यस पटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ साता पछिका लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दा पनि वहाँहरूलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैँले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो,’ उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।
अस्ट्रेलियाको व्यावसायिक लिग ‘निन्जा ए लिग’ खेल्ने क्रममा गत पुसको तेस्रो साता साम्बा घाइते भएकी थिइन् । न्युजिल्यान्डको क्लब ‘वेलिङटन फोनिक्स’ बाट ब्रिसबेन रोअरविरुद्ध खेल्दा विपक्षी गोलकिपरसँग ठोक्किएर उनको दाहिने घुँडाको ‘एसिएल’ र ‘एमसिएल’ पूर्ण रूपमा च्यातिएको थियो ।
चोट लागेको सात साता बितिसक्दा पनि साम्बाको शल्यक्रिया हुन सकेको छैन । साम्बाले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एन्फा नेतृत्वले सुरुमा सहयोगको आश्वासन दिएर प्रक्रिया अलमलमा पारेको र अन्त्यमा प्रशासनिक सहयोग गर्न नसकिने बताएको उल्लेख गरेकी छन् ।
साम्बाले आफ्नो शल्यक्रिया कतारको ‘अस्पेटार’ अस्पतालमा गराउन चाहेकी छन् । यसअघि पनि एन्फाकै पहलमा सोही अस्पतालमा गरिएको शल्यक्रिया र रिह्याब प्रभावकारी भएकाले उनी पुनः त्यहीँ जान चाहन्छिन् ।
उनको हालको क्लब वेलिङटन फोनिक्सले बिमामार्फत आउने रकम निकासा गरिदिने र न्युजिल्यान्डमै उपचार गर्न तयार रहेको बताए पनि साम्बाले कतारको उपचार रोजेकी हुन् ।

तर, बिमाको रकमले कतारमा शल्यक्रिया र ७ / ८ महिनाको रिह्याब खर्च धान्न नसक्ने उनले बताएकी छन् । साम्बाका अनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आकलन गरिएको छ ।
एन्फाभित्र ‘क्लबका लागि खेल्दा चोट लागेको’ भन्ने तर्क सुन्दा आफू निराश भएको साम्बाले बताएकी छन् । उनले आफूले इजरायल, फ्रान्स वा अस्ट्रेलिया जहाँ खेले पनि नेपालकै नाम राखेको र राष्ट्रको पहिचान बोकेको स्मरण गराएकी छन् ।
‘आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिने आम समर्थकहरू नै हुनुहुन्छ,’ उनले लेखेकी छन्, ‘यो चोटले मलाई शारीरिक र मानसिक रूपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कने छु । थाकेको हो, हारेको छैन । पुनः एक पटक नेपालको जर्सी लगाएर मैदानमा फर्कने छु । जय नेपाल !’
मैदान फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्ने भएकाले उनले स्वदेश तथा विदेशमा रहेका समर्थकलाई आर्थिक सहयोगका लागि क्युआर कोड र अनलाइन लिंकमार्फत आग्रह गरेकी छन् ।


























