
विराटनगर । नेपाली काँग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार डा. शेखर कोइरालालाई विभिन्न दलका उम्मेदवारले सघाउने भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर डा. शेखर कोइरालालाई सघाउने निर्णय गरेका हुन् ।
डा. कोइरालालाई समर्थन गर्दै उनीहरु निष्क्रिय बस्ने निर्णय गरेका छन् ।
उनीहरूले प्रत्यक्षमा काँग्रेसका उम्मेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन् ।
त्यसैगरी, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तिलक राजवंशी र जनता समाजवादी पार्टीका महमद जाविरले डा. कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै निर्वाचन आयोगबाटै यसअघि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
अहिलेको अवस्थामा लोकतन्त्र र देशका लागि आफूहरूको भन्दा डा. कोइरालाको जित आवश्यक रहेको निष्कर्षमा पुगेर आफूहरूले उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।

























