
ललितपुर । महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना जगाउने उद्देश्यले आयोजित ‘काठमाडौँ पिंक केयराथन’ ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ। लेजरपोर्ट नेपालद्वारा आयोजित उक्त प्रतियोगिताको २१.१ किलोमिटर हाफ म्याराथनतर्फ धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भएकी छन्। यस्तै, नेपाल आर्मीकी राज्यलक्ष्मी रावल दोस्रो र सरस्वती भट्टराई तेस्रो भएका छन्।
शनिबार बिहान जुम्बा सत्रबाट सुरु भएको कार्यक्रममा विभिन्न दूरीका दौड प्रतियोगिताहरू सञ्चालन गरिएको थियो। १० किलोमिटर दौडतर्फ नेपाल आर्मीकी निर्मला केसी पहिलो, सशस्त्र प्रहरीकी आशा राउत दोस्रो र नेपाल प्रहरीकी सुमित्रा चौधरी तेस्रो भए। हाफ म्याराथनका विजेताहरूले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, १० किलोमिटरतर्फका विजेतालाई ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको यस केयराथनमा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष नमराज जोशीले बताए। कार्यक्रममा भारतीय गायक जनिष्ट जोशीले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए। ५ र ३ किलोमिटरका ‘फन रन’ समेत समावेश गरिएको यस कार्यक्रमले स्वास्थ्य र खेलकुदका माध्यमबाट सामाजिक सचेतना फैलाउन सहयोग पुर्याएको आयोजकको विश्वास छ।

























