
विराटनगर । कोशी प्रदेशको क्रिकेट इतिहासमा एउटा नयाँ अध्याय थपिँदै छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा चैत ५ देखि ७ गतेसम्म पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा हुन लागेको यो प्रतियोगिता केवल खेल मात्र नभई, नेपाली क्रिकेटका दुई पुराना खेलाडीको सम्मान र नयाँ पुस्ताको उत्साहको संगम हुनेछ । मोरङका पूर्व चर्चित खेलाडी अनिल श्रेष्ठ र सुनसरीका मीन दाहालको क्रिकेट योगदानलाई चिरस्थायी बनाउन यो प्रतियोगिताको नाम ‘अनिल–मीन’ ट्रफी राखिएको हो ।
कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा हुने प्रतियोगितामा कोशी प्रदेशको २ टोली मोरङ र सुनसरीको सहभागिता रहने छ । खेल ५० ओभरको फर्म्याटमा हुनेछ भने विजेताको टुंगो ‘वेस्ट अफ थ्री’ का आधारमा हुनेछ । यस प्रतियोगितामा अनुभवी सिनियर खेलाडीदेखि उदयमान जुनियर खेलाडीसम्मले आफ्नो प्रतिभा देखाउने मौका पाउने छन् ।
आयोजक फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस प्रतियोगिताले खेलाडीहरूमा थप ऊर्जा र हौसला भर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो उद्देश्य कोशी प्रदेशको क्रिकेटलाई चलायमान बनाउनु र हाम्रा पूर्व खेलाडीहरूको सम्मान गर्नु हो ।’
कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले अनिल र मीन दसकौँ अगाडिका चर्चित खेलाडी भएको स्मरण गर्दै यो प्रतियोगिताले प्रदेशको क्रिकेटलाई नयाँ उचाइ दिने बताए । प्रतियोगितालाई प्राविधिक सहयोग प्रदेश क्रिकेट संघले गर्ने छ ।
यस्तै, मोरङ क्रिकेट संघका अध्यक्ष मोहम्मद सादबाबुले यो प्रतियोगिताले मोरङ र सुनसरीबिचको खेल सम्बन्धलाई अझ प्रगाढ बनाउने र क्रिकेट विकासमा कोसेढुंगा सावित हुने बताए ।
विराटनगरको मैदानमा चैतको गर्मीसँगै क्रिकेटको तातो बहस र प्रतिस्पर्धाले खेलप्रेमीलाई निकै मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

























