
काठमाडौं । ‘सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग’ फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेल बुधबार न्यु रोड टिम (एनआरटी) र संकटा क्लबबीच च्यासल फुटबल रंगशालामा हुनेछ ।
बुधबार नै हुने दोस्रो खेल विभागीय टोली त्रिभुवन आर्मी क्लब र झापा एफसीबीच हुनेछ । एन्फाका अनुसार यस पटक लिगका सम्पूर्ण खेलहरू च्यासल फुटबल रंगशालामा सञ्चालन गरिने छ । मंगलबार एन्फा मुख्यालयमा आयोजित प्रिम्याच प्रेस कन्फ्रेन्समा सहभागी सबै टोलीका कप्तान र प्रशिक्षकहरूले आफूहरू उपाधि जित्ने दाउका साथ मैदान उत्रन तयार रहेको बताए ।
लिग प्रतियोगितामा ३ विभागीय टोलीसहित ९ वटा टोलीले सहभागिता जनाएका छन् । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबका साथै बागमती युथ क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यु रोड टिम (एनआरटी), आर एस रिसोर्ट एन्ड बिच फुटबल तथा संकटा एफसीले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिताको सुरुवाती तालिकामा राप्ती एफसीको पनि नाम समावेश थियो । तर, आइतबार एन्फा र क्लबबीच भएको छलफलपछि प्राविधिक कारणवश राप्ती लिग खेल्न नपाउने निर्णय गरेको हो ।
वैशाख १२ गतेसम्म हुने महिला लिग प्रतियोगिताले महिला फुटबलमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । यस लिगले नयाँ र प्रतिभावान् खेलाडीहरूलाई राष्ट्रिय टिमको ढोका खोल्ने अवसर समेत प्रदान गर्ने छ ।

























