
विराटनगर । काठमाडौंमा आयोजना हुन लागेको प्रधानमन्त्री कप क्रिकेट (पीएम कप) प्रतियोगिताका लागि कोशी प्रदेशका खेलाडी टोलीको नाम घोषणा गरिएको छ ।
काठमाडौंमा चैत ७ गते शनिबारदेखि हुने पीए कपका लागि सुजन थपलियाको नेतृत्वमा १५ खेलाडी, प्रशिक्षक, टोली व्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा गरेको कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेशको इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरबाट खेलाडी चयन गरिएको छ ।
प्रतियोगिताका लागि अंकित सुवेदीलाई कप्तानीबाट हटाएर झापाका सुजन थपलियालाई कप्तानीको जिम्मेवारी दिइएको संघले जनाएको छ । झापाबाट ६, मोरङबाट ४, उदयपुरबाट ३, सुनसरी र इलामबाट समान १ जना खेलाडी टोलीमा सहभागिता भएका छन् ।
अध्यक्ष पाण्डेले थपलियाको कप्तानीमा टोलीले सुखद नतिजा दिने अपेक्षा गरेका छन् । प्रतियोगिताका लागि प्रशिक्षकको जिम्मेवारी राजकुमार प्रधान, व्यवस्थापकमा शशिशेखर झा र फिजियो विपिन भट्टराईलाई जिम्मेवारी दिइएको छ ।
टोलीमा मोरङबाट उपकप्तानमा शाकिब हक, फिर्दाेष अन्सारी, दीपेश कँडेल, प्रेम कामत रहेका छन् । बागमती र मधेस प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशले ९ वटा खेल खेल्ने छ । कूल ४६ वटा खेल हुने प्रतियोगिताको उपाधि भिडन्त वैशाख ४ गते वीरगञ्जमा हुनेछ ।
प्रतियोगितामा ७ प्रदेशका साथै ३ विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली (एपीएफ) र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

























