
विराटनगर । विराटनगरमा जारी ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा मोरङले विजयी सुरुवात गरेको छ ।
नेपाल क्रिकेट फाउण्डेसनले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा मोरङले सुनसरीलाई ५५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ थालेको मोरङले निर्धारित ५० ओभरको खेलमा २७ ओभर ३ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय १४ रनको चुनौती प्रस्तुत गरेको थियो । मोरङका प्रतीक पोखरेलले ३२ रन र सुवास रायले १३ रन बनाए । बलिङमा सुनसरीका कविराज खत्रीले ५ विकेट, कृष्ण विष्ट र रविन मण्डलले १–१ विकेट लिए ।
१ सय १५ रनको लक्ष्य पछ्याएको सुनसरीले १९ ओभर ४ बलमा सबै विकेटको क्षतिमा ५५ रनमै समेटियो । सुनसरीका रोशन खत्रीले १७ रन र अफन ताहिरले ११ रन बनाए । मोरङका कृष शर्माले ५ विकेट, कृतिक कामतले ४ विकेट र प्रतीक पोखरेलले १ विकेट लिए । खेलको प्लेयर अफ म्याच मोरङका प्रतीक पोखरेल भए ।
फाउण्डेसनले मोरङका पूर्वखेलाडी अनिल श्रेष्ठ र सुनसरीका पूर्वखेलाडी मीन दाहालको सम्मानका लागि प्रतियोगिताको आयोजना गरेको जनाएको छ । शनिबारसम्म हुने प्रतियोगितामा ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित हुने छन् ।


















