
काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक महिला लिगमा बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा बागमतीले पोखराको आरएस रिसोर्ट एन्ड बीच फुटबल टिमलाई ५–४ गोल फरकमा पराजित गरेको हो ।
खेलको ७ औँ मिनेटमा पोखराकी गीता श्रेष्ठले गोल गर्दै अग्रता बनाइन् । ९ औँ मिनेटमा बागमतीकी अस्मिता मगरले गोल गर्दै खेललाई बराबरी बनाइन् । ४८ औँ मिनेटमा पोखराकी तुलसीकुमारी ओलीको गोलले खेल २–१ को स्थितिमा पुग्यो ।
तर, त्यो अग्रता धेरै समय टिकेन । ५१ औँ मिनेटमा प्रजिता राई र ६० औँ मिनेटमा दीक्षा रणपालले गोल गर्दा बागमतीले ३–२ को अग्रता बनायो । पोखराकी वर्षा कुँवरले ६८ औँ मिनेटमा गोल गर्दा खेल ३–३ को बराबरीमा पुग्यो ।
यसपछि अस्मिताले ७० र दीक्षाले ७६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बागमतीलाई ५–३ को अग्रता दिलाए । पोखराकी गीताले ८३ औँ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे पनि जित निकाल्न पर्याप्त भएन ।

























