राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल स्मृति र न्यू डायमण्ड भिड्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ८, आइतबार ११:३९

हेटौँडा। राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान प्रवेश गरेको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत आइतबार बिहान भएको सेमिफाइनलमा लुम्बिनी प्रदेशको स्टेप भलिबल क्लब पाल्पालाई ३–० को सोझो सेटले पराजित गर्दै प्रतिष्ठान फाइनलमा पुगेको हो।

प्रतिष्ठानले पाल्पाको स्टेप भलिबल क्लबलाई २५–१६, २५–७ र २५–२० को सेटमा पाखा लगाएको थियो। अब आजै दिउँसो हुने उपाधि भिडन्तमा केशवलाल स्मृति प्रतिष्ठानले काठमाडौँको न्यू डायमण्ड क्लबको सामना गर्नेछ। न्यू डायमण्ड समूह ‘ए’ बाट दुवै खेल जित्दै विजेताका रूपमा सेमिफाइनल पुगेको थियो भने स्टेप भलिबल क्लब उपविजेताका रूपमा अन्तिम चारमा समेटिएको छ।

Advertisement

प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २ लाख र सेमिफाइनलमा पराजित हुने दुई टोलीले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई पनि नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा सञ्चालित प्रतियोगितामा ६ वटा राष्ट्रिय टोलीको सहभागिता रहेको छ। यसअघिको पहिलो संस्करणमा विभागीय टोली एपीएफले न्यू डायमण्डलाई हराउँदै उपाधि जितेको थियो। भलिबल प्रतियोगिता सकिएपछि बुधबारदेखि शुक्रबारसम्म राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.