
इरान । संयुक्त अरब इमिरेट्स (यूएई) सहित २२ वटा देशले एक संयुक्त विज्ञप्ति जारी गर्दै स्ट्रेट अफ होर्मुजमा व्यापारिक जहाजहरूमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन्। इरानले हालै गरेका यी आक्रमणहरू निहत्था व्यापारिक जहाज र तेल तथा ग्यासका पूर्वाधारजस्ता नागरिक संरचनामाथि लक्षित रहेको भन्दै ती राष्ट्रहरूले आपत्ति जनाएका हुन्।
संयुक्त वक्तव्यमा यूएईसहित बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्यूजिल्याण्ड, डेनमार्क, लात्भिया, स्लोभेनिया, एस्टोनिया, नर्वे, स्वीडेन, फिनल्याण्ड, चेक गणतन्त्र, रोमानिया, बहराइन, लिथुआनिया र अष्ट्रेलियाका नेताहरूले हस्ताक्षर गरेका छन्। विज्ञप्तिमा इरानी सेनाले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य) लाई लगभग बन्द जस्तै गरेको उल्लेख गरिएको छ।
ती देशहरूले समुद्री मार्गको स्वतन्त्रता अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त भएको स्मरण गराउँदै संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुनको पालना गर्न आग्रह गरेका छन्। इरानका यस्ता गतिविधिले विश्वभरका नागरिक र विशेषगरी कमजोर समुदायलाई थप प्रभावित पार्ने चेतावनी समेत दिइएको छ।
हस्ताक्षरकर्ता राष्ट्रहरूले सुरक्षित समुद्री मार्ग सुनिश्चित गर्न आवश्यक पहलमा योगदान दिन आफूहरू तयार रहेको प्रतिबद्धता जनाएका छन्। साथै यस दिशामा योजना बनाइरहेका अन्य देशहरूको प्रयासलाई समेत उनीहरूले स्वागत गर्ने बताएका छन्।



















