
इजरायल। इजरायल, अमेरिका र इरानबीच जारी युद्धका क्रममा इरानले इजरायलमाथि अहिलेसम्मकै शक्तिशाली आक्रमण गरेको छ। टाइम्स अफ इजरायलका अनुसार शनिबार इरानले गरेको आक्रमणका कारण दक्षिणी सहर डिमोना र अरादमा १ सय भन्दा बढी मानिस घाइते भएका छन्। जसमध्ये ११ जनाको अवस्था गम्भीर छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस घटनालाई ‘कठिन साँझ’ को रूपमा टिप्पणी गर्दै गम्भीर प्रतिक्रिया दिएका छन्। उनले भने, ‘हाम्रो भविष्यका लागि भइरहेको अभियानमा हाम्रा लागि यो अत्यन्त कठिन साँझ रह्यो।’ उनले डिमोना र अरादका मेयरहरूसँग कुराकानी गर्दै सम्बन्धित मन्त्रालयहरूलाई ती सहरमा आवश्यक सबै सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्। साथै, इजरायलले सबै मोर्चाबाट शत्रुमाथि दृढताका साथ प्रहार जारी राख्ने चेतावनी समेत दिएको छ।
स्थानीय समयअनुसार शनिबार साँझ इजरायली हवाई रक्षा प्रणालीले इरानका दुईवटा ब्यालिस्टिक मिसाइल रोक्न नसक्दा ठूलो क्षति भएको हो। यस आक्रमणपछि प्रधानमन्त्री नेतन्याहु र इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामीरले इजरायल थप कडा प्रत्याक्रमणका लागि तयार रहेको बताएका छन्। घाइते हुनेहरूमा डिमोनामा भएको विस्फोटका छर्राले लागेका केही बालबालिका समेत रहेका छन्।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यी आक्रमणहरू इजरायलको आणविक अनुसन्धान केन्द्रलाई लक्षित गरी गरिएको हो। उक्त केन्द्र डिमोनाबाट करिब १० किलोमिटर र अरादबाट करिब ३० किलोमिटर टाढा छ। सोही दिन बिहान इरानको नातान्ज युरेनियम प्रशोधन केन्द्रमा भएको अमेरिकी आक्रमणको प्रतिकारस्वरूप यो कदम चालिएको इरानको दाबी छ। इरानले नातान्ज आक्रमणका लागि अमेरिका र इजरायललाई दोष दिए पनि इजरायली सेनाले भने आफ्नो संलग्नता अस्वीकार गरेको छ।



















