अमेरिका–इरान वार्ता विवाद : ट्रम्पको दाबी, इरानको अस्वीकार

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १०, मंगलबार ०८:०६

एजेन्सी । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच सकारात्मक छलफल भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । तर, इरानले उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच ‘पूर्ण समाधान’का विषयमा सकारात्मक संवाद भएको बताएका हुन् । उनले छलफललाई रचनात्मक भन्दै त्यसको निरन्तरताका लागि केही समय आवश्यक रहेको उल्लेख गरेका छन् ।

ट्रम्पका अनुसार सम्भावित वार्तालाई सहज बनाउन इरानका विद्युत् केन्द्र तथा ऊर्जा पूर्वाधारमाथि हुने सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिइएको छ । उनले भनेका छन्, ‘वार्ताको वातावरणलाई ध्यानमा राख्दै युद्धसम्बन्धी कदमहरू अस्थायी रूपमा रोकिएको हो र आगामी प्रगति वार्ताको सफलतामा निर्भर रहनेछ । यसले क्षेत्रीय तनाव घटाउन मद्दत पुग्ने अपेक्षा छ ।’

तर, इरानले भने अमेरिकाको दाबीलाई अस्वीकार गर्दै कुनै पनि प्रकारको वार्ता नभएको स्पष्ट पारेको छ । इरानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा अमेरिका र इरानबीच कुनै प्रत्यक्ष वा अप्रत्यक्ष संवाद नभएको उल्लेख गरिएको छ ।

इरानले आफ्नो अडान जारी रहेको जनाउँदै युद्धसम्बन्धी आफ्ना उद्देश्यहरू पूरा नभएसम्म कुनै पनि वार्तामा सहभागी नहुने जनाएको छ । साथै, ट्रम्पसँग कुनै सम्पर्क नै नभएको पनि उसले दाबी गरेको छ ।

यसरी एकातिर अमेरिका वार्ताको सकारात्मक संकेत देखाइरहेको छ भने अर्कोतर्फ इरानले त्यसलाई अस्वीकार गरेपछि मध्यपूर्वको अवस्थाबारे अन्योल अझै कायम रहेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.