
एजेन्सी । अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्व आज (बुधबार) २६औँ दिनमा प्रवेश गर्दा स्थिति अझ जटिल बन्दै गएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच दिनसम्म हमला नगर्ने घोषणा गरे पनि इजरायलले इरानमाथि आक्रमण रोकेको छैन । इरानले पनि जवाफी कारबाहीलाई निरन्तरता दिएको छ । यसले पश्चिम एशियाभरि तनाव थप बढाएको छ ।
अमेरिकी रक्षा विज्ञ रोबर्ट पेपले वर्तमान अवस्था ‘एस्केलेसन ट्र्याप’मा फस्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार सुरुवातमा सीमित आक्रमणबाट लक्ष्य हासिल नभएपछि आक्रमण विस्तारिँदै जान्छ । अन्ततः ठूलो युद्धमा परिणत हुन्छ ।
उनले युद्ध थप बढेमा विश्वको प्रमुख तेल आपूर्ति मार्ग होर्मुज जलडमरूमा गम्भीर असर पर्ने र यसले विश्व अर्थतन्त्र नै संकटमा पार्न सक्ने बताएका छन् । पेपका अनुसार यस्तो अवस्थामा इरान अझ बलियो बन्ने सम्भावना रहन्छ ।
इजरायलका संयुक्त राष्ट्रसंघीय राजदूत ड्यानी ड्याननले अमेरिका–इरानबीचको सम्भावित वार्तामा इजरायल सहभागी नभएको स्पष्ट पारेका छन् । उनले इजरायलको उद्देश्य इरानलाई परमाणु क्षमता हासिल गर्नबाट रोक्नु रहेको बताएका छन् ।
युद्धका कारण ठूलो जनधनको क्षति भएको छ । इरानमा मात्रै हालसम्म करिब १,५०० जनाको मृत्यु र १८ हजारभन्दा बढी घाइते भएका छन् । मृतकमध्ये बालबालिका, महिला र वृद्धहरू समेत छन् । एउटा विद्यालयमा भएको आक्रमणमा १६८ बालबालिकाको ज्यान गएको तथ्यले स्थिति झनै भयावह देखिएको छ ।
यसैबीच, ट्रम्पले इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव पठाएको दाबी गरेका छन् । जुन पाकिस्तानमार्फत पुगेको बताइएको छ । उनले वार्ता सफल भए सम्झौता र असफल भए थप कारबाही गर्ने रणनीति अपनाएको संकेत दिएका छन् । अमेरिकाले इरान वरपर करिब ५० हजार सैनिक तैनाथ गरिसकेको छ भने थप समुद्री र सैन्य तयारी पनि बढाइरहेको छ ।
पछिल्लो घटनाक्रममा तेहराननजिक आवासीय क्षेत्रमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ । इजरायली सेनाले राजधानी क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ । उता इरानले कुवेत विमानस्थलमा ड्रोन आक्रमण गर्दै इन्धन ट्यांकीमा आगो लगाएको छ भने साउदी अरबले क्षेप्यास्त्र र ड्रोन आक्रमण विफल पारेको जनाएको छ ।
यसैबीच, लेबनानतर्फ इजरायली सेना अघि बढ्दै गएको छ । पछिल्ला घटनाले युद्ध सीमित नहुने संकेत देखिएको छ । वार्ताको प्रयाससँगै द्वन्द्व थप गहिरिँदै गएको छ।



















