
काठमाडौं । बैंक कर्जा दुरुपयोग तथा शंकास्पद वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा जानकी मेडिकल कलेजका प्रमुख ओमप्रसाद पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
सीआईबीको टोलीले बुधबार उनलाई जानकी मेडिकल कलेज परिसरबाटै नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा पाण्डेले महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि’ नामक कम्पनी स्थापना गरी प्रभु बैंकबाट कर्जा लिएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त कम्पनीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै तयार नभएको अवस्थामा धितो सम्पत्तिको अस्वाभाविक रूपमा उच्च मूल्यांकन गराएर कर्जा स्वीकृत गराइएको थियो । त्यसपछि बैंकबाट प्राप्त रकम तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्य क्षेत्रमा लगानी गरिएको तथा पटकपटक कर्जाको दुरुपयोग भएको आरोप अनुसन्धानबाट देखिएको सीआईबीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–९ रातोपुल निवासी पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्षसमेत हुन् । उनी उक्त कम्पनीका एकल सञ्चालक रहेको प्रहरीको भनाइ छ ।
उच्च अदालत पाटनले २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी गरेपछि पाण्डे फरार रहेका थिए । लामो समयदेखि खोजीमा रहेका उनलाई अन्ततः सीआईबीले नियन्त्रणमा लिएको हो ।



















