मोरङको डाँस खोलाबाट धारिलो हतियारसहित १० जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २२, शुक्रबार ०६:१७

विराटनगर । मोरङको पथरीशनिश्चरेस्थित डाँस खोलाबाट धारिलो हतियार तथा विभिन्न औजारसहित १० जना युवा–युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई बुधबार राति करिब ११ः३० बजेतिर पथरीशनिश्चरे नगरपालिका–९ र १० को सिमानामा रहेको डाँस खोलाको झोलुंगे पुलनजिक खोला किनारबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । पक्राउ पर्नेमा पथरीशनिश्चरे–१ शिखर चोककी १८ वर्षीया आरिया धिमाल, कृपा लिम्बू, पथरीशनिश्चरे–४ का १८ वर्षीय एबिन राई, १९ वर्षीय सुप्रिम राई, १८ वर्षीय रिदम तामाङ, पथरीशनिश्चरे–९ का १८ वर्षीय निशान माझी, १८ वर्षीय सुशन ठटाल, पथरीशनिश्चरे–१० त्रिवेणी चोकका १९ वर्षीय युजिन राई, १८ वर्षीय अपिल राई र २२ वर्षीय अभिषेक थापा रहेका छन् ।

Advertisement

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको गस्ती टोलीले शंकास्पद रूपमा बसेका उनीहरूको साथबाट कट्टी, खुर्पा, मार्तल, सानो हाते बन्चरो, चेन तथा भालाजस्ता धारिलो हतियार र औजार बरामद गरेको डीएसपी मिश्रले बताए । उनका अनुसार पक्राउ परेका सबै जनालाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेकाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको हो । पक्राउ परेकाहरु धारिलो घरेलु हतियारसहित रातको समयमा खोना किनारमा किन बसेका हुन् भन्ने कुरालाई ध्यानमा राखेर इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्त नेतृत्वको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु कुनै व्यक्तिमाथि आक्रमण गर्ने योजनासहित बसेको पत्ता लागेको छ । ‘गाउँमा कोही मानिससँग सामान्य विवाद भएछ । सामान्य विवाद र झगडापछि आक्रमणको योजनासहित उनीहरु घरेलु हतियार लिएर बसेको पाइयो,’ मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले भने ।

विवाद गर्नेलाई आक्रमण गर्न बाटो ढुकेर बसेकाहरुलाई तत्काल प्रहरीले नियन्त्रणमा लिन सकेका कारण ठूलो घटना र कुनै क्षति हुन नपाएको उनको भनाइ छ । ‘समयमै पक्राउ गर्न नसकिएको भए ठूलो घटना हुन सक्थ्यो । प्रहरीको सक्रियताले अपराध हुन पाएन,’ एसपी कटवालले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.