
काठमाडौं ।अमेरिका र इरानबीच फेरि युद्ध सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमा हवाई आक्रमण गरेको हाे । तनाब चर्किएपछि इरानले होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) सबै प्रकारका जहाजहरूका लागि बन्द गरिएको घोषणा गरेको छ ।
अमेरिकी सेनाले बुधबार ढिलो गरी गरिएका यी आक्रमणहरू इरानको अनुचित र निरन्तर आक्रामकताको जवाफ भएको बताएको अलजजिराले जनाएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्ग आसपासका क्युसिम टापु, बन्दर अब्बास र सिरिक सहरमा भीषण विस्फोटहरू भएको बताएका छन् । दक्षिणी सहर करगानमा पनि बमबारी भएको बताइएको छ, जहाँ कम्तीमा दुईजना घाइते भएका छन् ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकामाथि गत अप्रिलमा भएको युद्धविरामको बारम्बार उल्लंघन गरेको आरोप लगाउँदै होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।
आईआरजीसीका अनुसार तेल ट्यांकर र व्यापारिक जहाजसहित यस रणनीतिक जलमार्गको सम्पूर्ण आवतजावत प्रभावित हुनेछ ।
इरानले जहाजहरूको सुरक्षित आवतजावतमा आफूले सहयोग गरिरहेको भन्ने अमेरिकाको अघिल्लो दाबीलाई पनि अस्वीकार गरेको छ ।
यो तनाव होर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी ‘अपाचे’ हेलिकोप्टर खसालिएको घटनापछि अमेरिका र इरानबीच सुरु भएको शृंखलाबद्ध सैन्य कारबाहीको भोलिपल्ट थप चर्किएको हो ।

























