
विराटनगर । बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएका एक जना फरार प्रतिवादी मोरङको उर्लाबारीबाट पक्राउ परेका छन् ।
इलामको माङसेबुङ गाउँपालिका–७ का ४६ वर्षीय शेरबहादुर लिम्बूलाई इलामको इलाका प्रहरी कार्यालय मंगलबारे र मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । इलामबाट फरार भएका लिम्बू उर्लाबारी नगरपालिका–४ आइतबारेमा लुकिछिपी बसेको अवस्थामा बिहीबार भेटिएका थिए ।
अदालतबाट दोषी ठहर भएका प्रतिवादी लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले निगरानी बढाएको थियो । लिम्बूलाई बैंकिङ कसुर मुद्दामा इलाम जिल्ला अदालतले २०८२ वैशाख ११ गते दोषी ठहर गरेको थियो ।
अदालतले लिम्बूलाई तीन दिन कैद सजाय तोक्नुका साथै उनले १७ लाख रुपैयाँ जरिबाना तिर्नुपर्ने तथा पीडित राहत कोषमा ६८ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क बुझाउनुपर्ने फैसला गरेको थियो । अदालतको फैसला कार्यान्वयनबाट बच्न उनी इलामबाट फरार रहेका थिए ।
फरार प्रतिवादी उर्लाबारी क्षेत्रमा लुकेर बसेको सूचना पाएपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो । त्यसक्रममा उनलाई उर्लाबारीमा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि इलाम पठाइएको छ ।

























