
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बस चोकबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित तीन जनालाई पक्राउ गरेको छ ।
रामधुनी नगरपालिका–८ का २३ वर्षीय नितेश चौधरी, सोही स्थानका २३ वर्षीय अर्पन राई र इटहरी उपमहानगरपालिका–१३ का ३० वर्षीय मिलनकुमार चौधरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ५.७७ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।
चेकजाँचका क्रममा नितेश चौधरीको दाहिने हातमा लुकाई ल्याएको अवस्थामा ७१० मिलिग्राम र पैदल हिँडिरहेका मिलनकुमार चौधरीले लगाएको भित्री कपडाको गोजीमा लुकाइएको ५.०६ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

























