इटहरीका व्यवसायीको साझा माग: ‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार ०९:२४
इटहरीका व्यवसायीको साझा माग: ‘‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’

इटहरी । मुलुकमा विद्यमान आर्थिक मन्दी, बैंकको उच्च ब्याजदर र अस्थिर नीतिका कारण निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको भन्दै इटहरीका उद्योगी–व्यवसायीहरूले सरकारसँग तत्काल  ‘व्यवसायमैत्री नीति’ ल्याउन माग गरेका छन् । उद्योग वाणिज्य संघ इटहरीको २६ औँ र २७ औँ वार्षिक साधारण सभाका अवसरमा व्यवसायीहरूले लगानी र रोजगारी जोगाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका हुन् ।

साधारण सभामा बोल्दै व्यवसायीहरूले बजारमा आएको सुस्तता र नीतिगत अन्योलले उद्योग सञ्चालन गर्नै चुनौतीपूर्ण बनेको गुनासो गरे । उनीहरूले कर प्रणालीको जटिलता र तरलता अभावका कारण व्यवसायीहरूको आत्मविश्वास घटेको उल्लेख गर्दै निजी क्षेत्रको मनोबल उकास्ने ठोस योजना ल्याउन दबाब दिएका छन् ।

‘कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको अर्थतन्त्रको मुख्य आधार निजी क्षेत्र नै भएको बताए । उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण र रोजगारी सिर्जनामा व्यवसायीको भूमिका निर्णायक हुने भन्दै सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको धारणा राखे ।

‘स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्योग विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण छ,’ प्रदेश प्रमुख खापुङले भने, ‘सरकारका नीतिहरू पनि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र उत्पादनमुखी अर्थतन्त्रलाई सघाउने खालका हुनुपर्छ ।’

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आफ्नो तीन वर्षे कार्यकालमा संघले व्यवसायीका हकहित र समस्या समाधानका लागि निरन्तर पहल गरेको बताए । उनले अहिलेको कठिन परिस्थितिमा सरकारले व्यवसायीका समस्याप्रति संवेदनशीलता देखाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बा, घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डे र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत डिल्लीराम पौडेलले वर्तमान आर्थिक संकट र कर प्रशासनका विविध पक्षबारे चर्चा गरे ।

सोही अवसरमा स्थानीय अर्थतन्त्र र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच जना उद्यमीहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा व्यवसायीहरू उमेश पौडेल, मनोज चौधरी, पूर्णकाजी श्रेष्ठ, विमलकुमार राठी र तुलसा कालाखेती रहेका छन् ।

साधारण सभासँगै इटहरीका व्यवसायीहरू अब चुनावी माहौलमा होमिएका छन् । संघको आगामी नयाँ नेतृत्व चयनका लागि असार २७ गते निर्वाचन हुँदै छ । नेतृत्वका लागि नवराज काफ्ले र गायत्री कटवाल भण्डारीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । दुवै पक्षले व्यवसायीका एजेन्डालाई मुख्य चुनावी नारा बनाएका छन् ।

आगामी नेतृत्वले व्यावसायिक सुरक्षा, करका समस्या समाधान र इटहरीलाई आर्थिक हबका रूपमा विकास गर्न प्रभावकारी भूमिका खेल्नुपर्ने आम व्यवसायीको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.