
काठमाडौं । नेपाल बाल संगठन (बालमन्दिर)को करोडौं मूल्य बराबरको सरकारी जग्गा तथा संस्थागत रकम दुरुपयोग गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जना पूर्वपदाधिकारीलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा संगठनका तत्कालीन सदस्यसचिव र सदस्यहरू छन् । यिनीहरूले संस्थाको स्वामित्वमा रहेको मूल्यवान जमिन निकै न्यून मूल्यमा निजी व्यावसायिक समूहलाई भाडामा दिई सरकार र संगठनलाई ठूलो आर्थिक क्षति पुर्याएको आरोप लागेको छ ।
सरकारले यसअघि गठन गरेको उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनमा उल्लिखित तथ्य र प्रमाणका आधारमा बुधबार राति सीआईबीको विशेष टोलीले काठमाडौंका विभिन्न स्थानबाट यी व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो । यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीले यस प्रकरणमा लामो समयदेखि छानबिन गरिरहेका थिए ।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार बालमन्दिरसम्बन्धी अर्को जग्गा भाडा प्रकरणमा समेत केही कर्मचारीलाई छुट्टै जाहेरीका आधारमा नियन्त्रणमा लिइएको छ । भाडामा जग्गा दिने प्रतिबद्धता गरे पनि पछि जग्गा नदिएको भन्दै पीडितहरूले उजुरी दिएपछि यो छुट्टै अनुसन्धान अगाडि बढेको थियो ।
प्रहरी स्रोतका अनुसार, यस प्रकरणमा थप उच्चपदस्थ व्यक्ति र बिचौलियाहरू पनि संलग्न रहेको आशंका गरिएको छ । तिनीहरूको खोजी तीव्र पारिएको छ । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि म्याद थपको माग सहित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने सीआईबीले जनाएको छ ।
ठगी तथा आपराधिक विश्वासघातको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ पर्नेहरूमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

























