
एजेन्सी । चीनको पूर्वी प्रान्त फुजियानस्थित जिनजियाङ शहरको हुइटेङ जुत्ता कारखानामा बिहीबार दिउँसो भएको भीषण आगलागीमा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार आगलागी स्थानीय समयअनुसार करिब मध्यान्ह भएको थियो । साँझसम्म मृतकको संख्या २८ पुगेको हो । मृतकको संख्या अझै बढ्न सक्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
घटनापछि १८३ उद्धारकर्मी र ३५ वटा सवारी साधन परिचालन गरिएको थियो । भवनभित्र अझै केही व्यक्ति फसेको आशंका रहेकाले खोज तथा उद्धार कार्य जारी छ । दमकलकर्मीहरूले भवनको भित्री र बाहिरी भागबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
उद्धार टोलीका अनुसार जुत्ता उत्पादनमा प्रयोग हुने अर्थात् जुत्तामा टाँस्ने पदार्थ तथा अन्य ज्वलनशील कच्चा पदार्थका कारण आगो तीव्र रूपमा फैलिएको थियो । सामग्रीले भरिएका भर्याङ र आपतकालीन निस्कने मार्ग अवरुद्ध भएकाले माथिल्ला तलासम्म पुग्न उद्धारकर्मीलाई कठिनाइ भएको बताइएको छ ।
राष्ट्रपति सी चिनफिङले घटनाबाट ठूलो मानवीय क्षति भएको भन्दै जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाही गरिने बताएका छन् । उनले पछिल्ला औद्योगिक दुर्घटनाबाट गम्भीर पाठ सिक्न र देशभर सुरक्षा उपाय थप सुदृढ बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।



















