
काठमाडौं । कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा शुक्रबार दिन र रात गरी दुई पटक स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको छ । अस्पतालभित्र इन्टरनेट चलाउन नदिएको निहुँमा सुरु भएको विवादले उग्र रूप लिँदा अस्पतालका चिकित्सक, नर्स र अन्य कर्मचारीहरू घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो अस्पतालको इन्टरनेट चलाउन नदिएको भन्दै मेडिकल अफिसर डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि कुटपिट भएको थियो । उक्त घटनाको केही घण्टा नबित्दै राति फेरि अर्को समूहले अस्पतालमा आक्रमण गरेको हो ।
राति सवा ९ बजेतिर स्थानीय तपेन्द्र बमले अस्पतालभित्रै प्रवेश गरी कर्मचारीहरूमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । बमको कुटपिटबाट अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डन घाइते भएका छन् । कुटपिटका साथै बमले अस्पतालका भौतिक संरचना र उपकरणहरूमा समेत तोडफोड गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा स्थानीय मैना बम, तपेन्द्र बम र अन्य दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

























