
भुँग्रो जस्तै तातिएको घामले
सबैलाई परास्त गरेझैँ
ठान्छ मान्छे र ढुङ्गा हान्छ
आगो पनि झोस्छ
परन्तु उही परास्त बन्छ
तत्काल थाहा नपाए पनि
निगुरो टिपेका बखत उसले थाहा पाउँछ।
ठूलो बाढीले बगाएको खेती
नफर्किएझैँ
ख्वामितको आदेशमा आगो झोसेर इतिहास डढाएको
नफर्किएपछि र
उसले मासुभात ख्वामितबाट नपाएपछि
थाहा पाउँछ- गलत भएछ।
ख्वामितका नानीहरू नेपोटिस्ट बनेपछि र
उसका नानीहरू मजदुर बनेपछि
थाहा पाउँछ- गलत भएछ।
यो पटक-पटक चलिरहन्छ
संसार न हो!
ख्वामित गाडी चढ्दा
ऊ रुख चढ्छ
गाडी गुड्छ
र ख्वामित हजुर लक्ष्यमा पुग्छन्
ऊ रुखबाट झर्छ र पुनः जमिनमै पुग्छ।
भ्रमभित्रबाट बाहिर निस्कँदा धेरै ढिला भइसकेको हुन्छ
पटक-पटक हुने यति नै हो
बस्, यति नै हो।



















