सृष्टिको निष्कर्षविहीन खेल र जिन्दगी

मुलुकी खबर
हरि फुयाल
clock२०८३ श्रावण ३०, शनिबार १०:२८

कसले भन्यो,

अन्तिम सत्य यही हो

Advertisement

र अब यसपछि

कुनै प्रश्न बाँकी छैन?

सृष्टिको पहिलो उज्यालो फुट्दा

कुन आँखाले देखेको थियो

प्रकाश जन्मिएको क्षण?

कुन कानले सुनेको थियो

शून्यको पहिलो आवाज?

कुन चेतनाले

आफैँलाई पहिलोपटक सोधेको थियो,

म को हुँ भनेर?

एउटा कुर्सी छ

कोठाको बीचमा

पाँच मानिस

पाँच दिशामा छन्

एउटाले देख्छ, काठ

अर्काले देख्छ, छाया

तेस्रोले देख्छ, घिस्रिएको खुट्टा

चौथोले देख्छ, कसैको पुरानो थकान

आसनमा थुप्रिएको

पाँचौँले देख्छ,

त्यसमा बसेर

कहिल्यै नफर्किएको मान्छेको सम्झना

सबैले भन्छन्,

मैले कुर्सी देखेँ

तर कुर्सी

चुपचाप बसिरहन्छ

मानौँ भनिरहेको होस्—

तिमीहरूले मलाई देख्यौ,

तर म तिमीहरूको देखाइ मात्र हुँ र?

कान्ट कतैबाट आउँछन् र भन्छन्,

वस्तु— तिमीले देखेको जति मात्र होइन

वस्तु— आफैँमा तिम्रो आँखाको पर्खालभन्दा पर

अझै उभिएको छ

राईज्यु इन्द्रबहादुर त्यहीँबाट

‘वस्तुता’ को खोजमा निस्कन्छन्

काइँलाको शब्दमा,

अर्को कोण खुल्छ

ईश्वरवल्लभको मौनमा

अर्को छाया

तीन आयामहरू

एउटै वस्तुको वरिपरि घुमिरहन्छन्

तर वस्तु?

वस्तु अझै

आफ्नै मौनतामा मस्त!

पाउन्ड भन्छन्,

वस्तुलाई देखाऊ,

उसको व्याख्या नगर

पिकासो एउटै अनुहारलाई

अगाडिबाट मात्र हेर्दैनन्

ब्राक,

छेउको अनुहार पनि

त्यही क्यानभासमा राखिदिन्छन्

अगाडि, पछाडि,

माथि, तल

एकैपटक

बहु-दृष्टिकोण

चित्र फुट्छ

र फेरि बन्छ

कविता च्यातिन्छ

र फेरि लेखिन्छ

यथार्थ छरपस्ट हुन्छ

र प्रश्नहरू बन्छन्

आइन्स्टाइन आउँछन्,

घडी बोकेर

र भन्छन्,

तिम्रो समय

मेरो समयजस्तै छैन

तिम्रो दूरी

मेरो दूरीजस्तै छैन

तर यसको अर्थ

सत्य झूटो भयो भन्ने होइन

दृष्टिकोण सापेक्ष हुन सक्छ,

तर ब्रह्माण्डको गहिराइमा

कुनै अदृश्य सम्बन्ध

अझै अडिग छ

तब मैले सोधेँ,

त्यसो भए सत्य कहाँ छ?

आइन्स्टाइन मुस्कुराए

उत्तर दिएनन्

सायद

उत्तरभन्दा अगाडि

अझ एउटा समीकरण थियो

महावीरको आवाज आयो,

एक आँखाले

हात्ती पूरा देख्दैन

अनेकान्त सत्यको एउटै अनुहार छैन

एक दृष्टि

सत्य हो

तर परम सत्य होइन

अर्को दृष्टि

त्यसको विरोध होइन

त्यही सत्यको

अर्को सम्भावना हो

स्यात्,

हुन सक्छ

स्यात्,

नहुन सक्छ

स्यात्,

दुवै हुन सक्छ

स्यात्,

शब्दभन्दा पर पनि केही हुन सक्छ

सत्य

फेरि चुप भयो

बोर्गेसको भूलभूलैयामा

म पसेँ

एउटा पुस्तक खोलेँ,

त्यसमा

मेरो जीवन लेखिएको थियो

अर्को पुस्तक खोलेँ,

त्यसमा

मेरो जीवन अझै सुरु भएको थिएन

तेस्रो पुस्तकमा

म मरिसकेको थिएँ

चौथोमा

म जन्मेकै थिइनँ

अनन्त पुस्तकहरू

अनन्त सम्भावनाहरू

म पुस्तकालयको बीचमा उभिएँ

र सोचेँ,

कुनचाहिँ मेरो सत्य हो?

भित्ताहरू हाँसे

पुस्तकहरू मौन भए

भूलभूलैया

आफैँ एउटा प्रश्न बन्यो

त्यसपछि म बाहिर आएँ

आकाशतिर हेरेँ

असंख्य आकाशगङ्गा

असंख्य सूर्यहरू, ताराहरू

असंख्य अज्ञेय, अज्ञातहरू

हामीले भन्यौँ,

ब्रह्माण्ड बुझ्यौँ

त्यसैबेला

डार्क म्याटरले

छाया हल्लायो

डार्क इनर्जीले

क्षितिज पर धकेल्यो

क्वान्टम कणले

भन्यो,

तिमीले मलाई हेरेर

मलाई बुझ्यौ भन्ने भ्रम नगर

ब्ल्याक होलले

आफ्नो मुख बन्द गर्‍यो

समय

आफ्नै पुच्छर समातेर

घुमिरह्यो

र फेरि

प्रश्न उठ्यो,

जीवन कहाँबाट आयो?

पदार्थबाट?

ऊर्जाबाट?

शून्यबाट?

कि शून्य नै

कहिल्यै शून्य थिएन?

र चेतना?

मस्तिष्कको उपज?

कि मस्तिष्क

कुनै अझ गहिरो चेतनाको

एउटा झ्याल मात्र?

मान्छेले

ब्रह्माण्ड नापिरहेको थियो

तर

नाप्ने मान्छे स्वयं

अझै नापिन सकेको थिएन

कहिलेकाहीँ

म आफ्नै चेतनाभित्र पस्छु

त्यहाँ

युङ्गका पुराना छायाहरू भेटिन्छन्

व्यक्तिगत स्मृतिको तल

मानवजातिको सामूहिक अँध्यारो

पुराना मिथकहरू

पुराना देवताहरू

पुराना भयहरू

पुराना प्रेमहरू

मानौँ

म एक्लो मान्छे होइन,

मभित्र

असंख्य मानिसहरू

अझै बाँचिरहेका छन्

र म?

म त उनीहरूको

अर्को अध्याय मात्र

त्यसपछि

कसैले कानमा भन्यो,

अहिले नै सबै रहस्य खुल्यो भने

भोलि के खोज्ने?

म चुप भएँ

सृष्टिले

आफ्नो ढोका खोलेन

उसले

अर्को ढोका मात्र देखायो

म त्यो ढोकातिर गएँ

त्यहाँ

अर्को ढोका थियो

त्यसपछि अर्को

फेरि अर्को

अन्ततः बुझेँ,

रहस्यको अन्त्य

रहस्यको मृत्यु हो

अनि

विस्मयको अन्त्य

जीवनको एउटा सुन्दर मृत्यु

कसैले भन्यो,

एकदिन

मान्छे सबै बुझ्नेछ

म मुस्कुराएँ

सायद,

तर त्यो दिन आए पनि

म सोध्नेछु,

बुझ्ने त्यो ‘म’ लाई

कसले बुझ्यो?

त्यस प्रश्नपछि

फेरि एउटा ब्रह्माण्ड खुल्नेछ

त्यस ब्रह्माण्डपछि

फेरि अर्को

सायद

सत्य कुनै अन्तिम चुली होइन,

सत्य

चुली देखाउँदै

हामीलाई निरन्तर

हिँडाइरहने क्षितिज हो

र यदि

भोलि प्रलय भयो भने?

मान्छेका पुस्तकहरू जले भने?

हाम्रा दूरबिनहरू मौन भए भने?

हाम्रा प्रयोगशालाहरू खरानी भए भने?

मानव सभ्यताको अन्तिम मान्छेले

अन्तिम प्रश्न सोधेर

आँखा बन्द गर्‍यो भने?

सृष्टि

फेरि पनि चलिरहनेछ

तारा जन्मिनेछन्

तारा मर्नेछन्

ग्रहहरू घुमिरहनेछन्

शून्य

आफ्नै मौनमा

फेरि कुनै रहस्य बोकेर बस्नेछ

मान्छे मर्न सक्छ,

तर रहस्य मर्दैन

त्यसैले जिन्दगी सायद

उत्तर होइन

जिन्दगी प्रश्न हो

निरन्तर प्रश्न

सृष्टि निष्कर्ष होइन

सृष्टि सायदै मेरो जस्तै निरन्तर लेखिँदै गरेको

एउटा अपूर्ण कविता हो

हामी

त्यस कविताका

केही हरफ

आज लेखिन्छौँ

भोलि मेटिन्छौँ

फेरि

कुनै अज्ञात हातले

हामीलाई अर्को अर्थमा लेख्छ

स्थिरता

आँखाको भ्रम

गति

अस्तित्वको स्वभाव

वस्तु

हाम्रो दृष्टिभन्दा पर रहेको मौन सृष्टि

दृष्टि

वस्तुमा फर्किरहने एउटा धारणा

सत्य

हाम्रो हातमा आउँदै

फेरि हातबाट फुत्किरहने एउटा खेल

र जीवन?

जीवन त

त्यही फुत्किरहेको सत्यलाई

समात्न खोज्ने

मान्छेको अदम्य हात हो

आज

म फेरि त्यही कुर्सीछेउ उभिएको छु

कुर्सी चुप छ

म चुप छु

पाँच दिशाबाट

पाँच आँखाहरू

उसलाई हेरिरहेका छन्

तर

कुर्सीभन्दा पर

अर्को कुर्सी छैन

कुर्सीभित्रै

अनन्त कोणहरू छन्

र मेरो आँखाभित्र

अर्को अनन्तता बाँचिरहेछ

म कुर्सीलाई हेर्छु

कुर्सी

मलाई हेर्छ

बीचमा

एउटा अज्ञात मौन

त्यही मौनतामा

सम्पूर्ण सृष्टि

आफ्नो अर्को अध्याय

लेखिरहेछ

सायद यही हो लीला

उत्तर आएर

प्रश्न बन्नु

प्रश्न आएर

विस्मय बन्नु

विस्मय आएर

खोज बन्नु

खोज आएर

फेरि अज्ञातको ढोकामा उभिनु

र त्यो ढोका खोलेपछि

फेरि अर्को ढोका भेटिनु

अन्त्यहीन

निष्कर्षहीन

अर्थहीन होइन

अर्थहरू जन्माइरहने सृष्टि

आफैँलाई खोजिरहेछ

मान्छेको आँखाबाट

मान्छे

आफैँलाई खोजिरहेछ

सृष्टिको आँखाबाट

दुवै एकअर्कालाई खोज्दाखोज्दै

कतै हराइरहेका छन्

कतै भेटिइरहेका छन्

र समयको अदृश्य नदीमा

जिन्दगी एउटा क्षणभरको तरङ्ग भएर

भनिरहेछ,

मलाई बुझ्न नखोज, मात्र मलाई बाँच

मलाई निष्कर्षमा नपुर्‍याऊ,

मसँग हिँड

किनकि

म जहाँ समाप्त हुन्छु,

त्यहीँबाट

अर्को रहस्य सुरु हुन्छ

र सृष्टि

मुस्कुराइरहन्छ,

निष्कर्षविहीन

अनादि र अनन्तताको गर्भबाट

लीलाको अद्भुत खेलहरूमा

बस्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.