
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्भावित खतराका कारण गत महिना टर्कीमा आफूले विमान बदलेको स्वीकार गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले नाटो शिखर सम्मेलनमा जाने क्रममा आफू सवार विमानमाथि आक्रमणको उच्च जोखिम रहेको बताए।
सुरक्षा सतर्कताका कारण आफूलाई विमानस्थलको क्याटरिङ ट्रकमा राखेर अर्को विमानसम्म पुर्याइएको ट्रम्पले जानकारी दिए। ‘आक्रमण भइहालेमा सोही विमानलाई निशाना बनाइने सम्भावना थियो। सुरक्षा निकायको निर्देशनअनुसार नै मैले सो कदम चालेको हुँ,”‘नले भने।
यसअघि ‘वासिङ्टन पोस्ट’ले जुलाई ८ मा अंकाराबाट प्रस्थान गर्ने क्रममा ट्रम्प कतारले उपहार दिएको बोइङ ७४७-८ (एयरफोर्स वान) मा चढेको विवरण सार्वजनिक गरेको थियो। रिपोर्टअनुसार, पछि उनलाई खाना र सामान ओसार्ने गाडीको मद्दतले गोप्य रूपमा अमेरिकी वायुसेनाको भीआईपी सैन्य विमान सी-३२ए सम्म पुर्याइएको थियो।
उक्त उडानका क्रममा पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीलाई समेत वास्तविक योजनाबारे जानकारी दिइएको थिएन। पत्रकारहरू पुरानै एयरफोर्स वानमा सवार थिए र उनीहरूलाई झ्यालका सेडहरू बन्द राख्न लगाइएको थियो। पछि ट्रम्पले सो उडान खतरनाक क्षेत्रबाट भएकाले त्यस्तो सावधानी अपनाइएको पुष्टि गरे।
ट्रम्प सवार सानो सी-३२ए विमान बेलायतको आरएएफ मिल्डेनहल एयरबेसमा अवतरण गरेको केही मिनेटपछि पत्रकारहरूसहितको एयरफोर्स वान पनि त्यहाँ पुगेको थियो। त्यहाँ अमेरिकी सैनिकहरूसँगको भेटघाटपछि ट्रम्प पुनः कतारबाट प्राप्त नयाँ विमानतर्फ लागेका थिए।



















