
सदियौँदेखि तिम्रो जातको थैलोमा
कस्सिएको छु म,
निस्सासिएको छु म।
उहिल्यैदेखि तिम्रो वर्गको खाडलमा
खसेको छु म,
कष्टकर बाँचेको छु म।
वर्षौंदेखि तिम्रो वर्णको भाँडोमा
घोप्टिएको छु म,
छताछुल्ल पोखिएको छु म।
म अछुत शूद्र, तिमी छूत ब्राह्मण,
म निरीह भुइँमान्छे, तिमी सामन्त सम्राट,
म कालो मान्छे, तिमी कुलीन गोरो।
तिम्रा पुर्खाहरूले पाइतालामुनि राखे,
मेरा पुर्खाहरू चुपचाप तेर्सिदिए।
तिम्रा पुर्खाहरूले चौडा छातीमा लात मारे,
मेरा पुर्खाहरू बिना अवरोध सहिदिए।
तिम्रा आफन्तहरूले मुटु निचोरेर रगत पिए,
मेरा निर्दोष पुर्खाहरू छचल्किँदै पोखिए।
आज सदियौँ वर्षपछि पनि
तिमी निर्लज्ज लगाइरहेछौ जातको पर्खाल,
कुल्चिरहेछौ निर्दोष सपनाहरू,
घोप्ट्याइरहेछौ निस्पट्ट अँध्यारो।
ए सामन्त सम्राट,
एउटा पोखरीमा अनेक रङहरू
एकचोटि खन्याएर त हेर—
कति पानी ओगट्छ कालोले?
कति पानी ओगट्छ रातो, सेतो, पहेँलो, हरियो
या अन्य–अन्य रङहरूले?
कि त घुल्दैन कालो रङ पानीमा?
ए सामन्त सम्राट!
सदियौँदेखि तिमीले झोसेको जातको आगो
सल्किरहेछ मभित्र,
तिमीले लगाएको अछुतको डढेलो
हुर्हुरिरहेछ मभित्र,
तिमीले घोप्टाएको अँध्यारो
उम्लिरहेछ मभित्र।
खबरदार!
अब जतिसुकै बेला तिमीमाथि झोसिन सक्छ
मभित्र हुर्हुरिएको डढेलो।



















