समयको संकेत र कांग्रेसको अगाडिको बाटो

मुलुकी खबर
दीपेन्द्र अधिकारी
clock२०८३ भाद्र ६, शनिबार ०९:१४

यता आफ्नै घर लथालिङ्ग छ, उता अरूको के कुरा गर्नु र! यद्यपि म कुनै राजनीतिक दलको सामान्य सदस्य मात्र हुँ। तर त्योभन्दा माथि एक नेपालीका रूपमा देशभित्र र संसारभर भइरहेका राजनीतिक तथा सामाजिक घटनाक्रमलाई सही ढंगले नियाल्नु, तिनको मनोविज्ञान बुझ्नु र त्यसले भविष्यमा पार्न सक्ने प्रभावको लेखाजोखा गर्नु आवश्यक ठान्छु। किनकि म ज्योतिषी होइन, बिना तथ्य र तथ्यांक भविष्यवाणी गर्न सक्ने।

अहिले नेपालको राजनीतिमा देखिएको ‘जेन्जी’ उथलपुथललाई केवल केही व्यक्तिको उदय वा पुराना दलप्रतिको आक्रोशका रूपमा बुझेर पुग्दैन। यसको पछाडि पुस्तान्तरणको चाहना, राजनीतिक शैलीप्रतिको असन्तुष्टि, जवाफदेहिताको माग र नयाँ नेतृत्वप्रतिको जनअपेक्षा जोडिएको छ। यो मनोविज्ञानलाई बुझ्न नसक्ने हो भने पुराना राजनीतिक शक्तिहरूले समयले दिएको संकेतलाई फेरि पनि गलत ढंगले बुझ्ने खतरा छ।

Advertisement

पुराना पार्टीका कतिपय नेताहरू अझै पनि यही मनोविज्ञान बुझ्न असफल देखिन्छन्। उनीहरूले अनिच्छामै भए पनि रवि लामिछाने र बालेन शाहजस्ता नयाँ पुस्ताका पात्रलाई राष्ट्रिय राजनीतिको केन्द्रमा पुर्‍याउन भूमिका खेलेका छन्। अब समयले उनीहरूलाई कहाँ पुर्‍याउँछ, त्यो भने हेर्न बाँकी नै छ। तर एउटा कुरा स्पष्ट छ- नयाँ पुस्ताको आवाजलाई रोक्ने प्रयासले त्यसलाई कमजोर बनाउनेभन्दा झन् बलियो बनाउने सम्भावना बढी हुन्छ।

यही सन्दर्भमा नेपाली कांग्रेसभित्रको पछिल्लो घटनाक्रमलाई पनि हेर्नुपर्ने हुन्छ।

लोकतान्त्रिक धारको प्रतिनिधित्व गर्ने लामो इतिहास बोकेको नेपाली कांग्रेसका पुराना नेताहरूले बीपी कोइरालाको राजनीतिक विरासतको नाममा गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता युवा नेताहरूलाई पाखा लगाउने वा रोक्ने प्रयास गरे भने त्यसको परिणाम उल्टो आउन सक्छ। आजको परिस्थितिलाई हेर्दा, उनीहरूलाई रोक्ने प्रयासले बरु उनीहरूलाई अझ बलियो र स्थापित नेता बनाउने सम्भावना देखिन्छ।

राजनीतिमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो। कुनै पनि पार्टी एउटा पुस्ताको सोच, शैली र नेतृत्वमा सधैँ अडिन सक्दैन। समयअनुसार नेतृत्व, कार्यशैली र प्राथमिकता परिवर्तन गर्न सकिएन भने इतिहास जति लामो भए पनि पार्टी जनताबाट टाढिँदै जान सक्छ।

कांग्रेसका लागि यो प्रश्न अझ गम्भीर छ। बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई (कृष्णबाबु) जस्ता अग्रज नेताहरूले लोकतन्त्रका लागि गरेको संघर्ष नेपाली राजनीतिक इतिहासको अमूल्य सम्पत्ति हो। उनीहरूले छाडेको लोकतान्त्रिक विरासतलाई जोगाउनु भनेको उनीहरूको नाम दोहोर्‍याउनु मात्र होइन, उनीहरूले देखाएको लोकतान्त्रिक मूल्य, त्याग, सहिष्णुता र जनताप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्नु पनि हो।

यदि यही नाम र विरासतलाई आधार बनाएर नयाँ पुस्तालाई निरन्तर रोक्ने प्रयास गरियो भने कतै बीपी, गणेशमान र कृष्णबाबुले निर्माण गरेको लोकतान्त्रिक विरासतको झल्को नै कमजोर हुने अवस्था त आउँदैन? प्रश्न गम्भीर छ।

अब बुद्धि पुर्‍याउने बेला शेरबहादुर देउवाकै हो। इतिहासमा आफ्नो भूमिका स्थापित गरिसकेका देउवाले अब पार्टीको भविष्यलाई व्यक्तिगत नेतृत्वको निरन्तरताभन्दा माथि राखेर हेर्नुपर्ने समय आएको छ। युवा पुस्ताको मनोविज्ञान बुझेर उनीहरूलाई नेतृत्वको अवसर दिने र नयाँ पुस्ताको ऊर्जा, प्रविधि र राजनीतिक दृष्टिकोणसँग कांग्रेसलाई जोड्ने हो भने पार्टी अझ शक्तिशाली बन्न सक्छ। अन्यथा, परिवर्तनको गतिसँगै कांग्रेस क्रमशः कमजोर हुँदै जाने जोखिमलाई नकार्न सकिँदैन।

गगनहरूका लागि पनि बाटो सहज छैन। पार्टीभित्रको पुरानो संरचना, नेतृत्वको प्रतिरोध र आन्तरिक शक्ति सन्तुलन उनीहरूका अगाडि ठूला चुनौती हुन्। तर परिवर्तनको कदम सुरुदेखि नै अगाडि बढाइसकेकाले अन्ततः सफलता प्राप्त गर्ने सम्भावना पनि उत्तिकै छ।

किनकि यो अब पार्टी सदस्यको मात्र विषय रहेन। आम नागरिकको सहानुभूति, अपेक्षा र चासो पनि यससँग जोडिएको छ। राजनीतिक दलको भविष्य केवल संगठनभित्रका सक्रिय कार्यकर्ताको निर्णयले निर्धारण गर्दैन। लोकतान्त्रिक पार्टीको वास्तविक अस्तित्व र शक्ति अन्ततः जनताको विश्वासमा निर्भर हुन्छ।

लोकतन्त्रमा कार्यकर्ता आवश्यक छन्, संगठन आवश्यक छ, विचार आवश्यक छ। तर यी सबैको अन्तिम परीक्षा जनतामाझ हुन्छ। जनताको विश्वास गुमाएको पार्टीले संगठनको बलमा लामो समय राजनीति धान्न सक्दैन।

त्यसैले कांग्रेसका लागि अहिलेको समय केवल आन्तरिक शक्ति संघर्षको समय होइन, आत्मसमीक्षाको समय पनि हो। नयाँ पुस्तालाई रोक्ने कि उनीहरूलाई साथमा लिएर अघि बढ्ने? पुरानो शैलीमै अडिने कि बदलिँदो समाज र युवाको मनोविज्ञानअनुसार आफूलाई रूपान्तरण गर्ने? यी प्रश्नको उत्तरले कांग्रेसको आगामी यात्रा निर्धारण गर्नेछ।

गगनजीहरूलाई शुभकामना- युवा पुस्ताको आवाज, परिवर्तनको चाहना र लोकतान्त्रिक राजनीतिप्रतिको नयाँ अपेक्षालाई सही दिशामा अघि बढाउन सकून्।

समय कसैको प्रतीक्षा गर्दैन। राजनीतिले पनि गर्दैन।

तपाइको प्रतिक्रिया
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×