
ताप्लेजुङ । स्थानीय खेल प्रतिभाको पहिचान, खेलकुदको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ताप्लेजुङको सिरिजंगा गाउँपालिका–७ खेवाङमा आयोजित ‘खेवाङ खेलकुद महोत्सव’ सम्पन्न भएको छ। महोत्सवमा पुरुष फुटबल, पुरुष तथा महिला भलिबल र २१ किलोमिटर हाफ म्याराथन प्रतियोगिता सञ्चालन गरिएको थियो।
महोत्सवअन्तर्गत पुरुष फुटबलको उपाधि पेदाङ स्पोर्टिङ क्लबले जितेको छ। उपाधिसँगै पेदाङले एक लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता सिदिङ्वाको सुरुम्खिमस्थित लालीगुराँस युथ क्लबले एक लाख पाँच हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ।
पुरुष भलिबलतर्फ सुरुम्खिमको लालीगुराँस स्पोर्टिङ क्लब प्रथम र पाथीभरा याङवरकको थुम्बेदिन युनाइटेड क्लब द्वितीय भए। उनीहरूले क्रमशः ६० हजार र ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
त्यस्तै, महिला भलिबलतर्फ आयोजक खेवाङ स्पोर्टिङ क्लब प्रथम र सिदिङ्वाको सुरुम्खिमस्थित लालीगुराँस स्पोर्टिङ क्लब द्वितीय भए। विजेता र उपविजेता टोलीले क्रमशः ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष विनम मावोले जानकारी दिए।
२१ किलोमिटर हाफ म्याराथन दौडमा ताप्लेजुङको मिक्वाखोलाका फुर्लाक्पा शेर्पा प्रथम भए। ओखलढुंगाका पृथ्वी राई द्वितीय र ताप्लेजुङको मैवाखोलाका अमिर लिम्बू तृतीय भए। उनीहरूले क्रमशः ३३ हजार ५८३, २२ हजार ५८३ र १३ हजार ५८३ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

























