पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १६:५०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । प्रतियोगितामा आफ्नो पाँचौँ खेल खेलेको पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

पोखराका लागि युवराज सम्राले शतकीय पारी खेले । उनले ४८ बलमा १० चौका र छ छक्काको मद्दतमा १०२ रन बनाए । कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रन जोडे । त्यस्तै कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ३५ रन बनाए । महेदी हसन पाँच र सन्नी विक तीन रनमा आउट भए ।

कर्णालीका सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए भने मार्क वाटले एक विकेट हात पारे ।

जवाफी ब्याटिङमा कर्णालीका पवन शर्राफले सर्वाधिक ३२ रन बनाए । अरिफुल इस्लामले २४, दीपक डुम्रेले २२, सोमपाल कामीले २१ र सूर्य तामाङले १३ रन बनाए ।

पोखराका मेहदी हसनले तीन विकेट लिए । धनञ्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले दुई–दुई विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.