फाइल तस्बिरकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने चार टोलीको टुंगा लाग्न बाँकी रहँदा लिग चरणका अन्तिम १० खेल निर्णायक बनेका छन्। १८ खेल सकिँदासमेत कुनै टोलीले प्लेअफमा स्थान सुरक्षित गर्न नसकेपछि शीर्ष चारको समीकरण थप रोचक बनेको छ। एक जितले प्लेअफको ढोका खोल्न सक्ने र एक हारले उपाधि यात्रामै धक्का लाग्न सक्ने अवस्थामा अब प्रत्येक खेल टोलीका लागि ‘गर या मर’ को प्रतिस्पर्धा बनेको छ।
पाँच खेलबाट ७ अंक जोडेको लुम्बिनी लायन्स अंकतालिकाको शीर्षस्थानमा छ। चार खेलबाट ६–६ अंक बनाएका काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। पाँच खेलबाट ५ अंक जोडेको चितवन राइनोज चौथो स्थानमा रहँदा जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्स समान ४ अंकसहित प्लेअफ दौडमा छन्। चार खेल खेलेर सबैमा पराजित भएको पोखरा एभेन्जर्स भने अंकविहीन छ।
लुम्बिनीलाई प्लेअफ नजिक पुग्ने अवसर
शीर्षस्थानमा रहेको लुम्बिनी लायन्सलाई बाँकी दुई खेलमध्ये एकमा जित निकाल्न सके प्लेअफ यात्रामा ठूलो राहत मिल्नेछ। कर्णाली याक्स र विराटनगर किंग्ससँग खेल्न बाँकी रहेको लुम्बिनी दुवै खेल जिते ११ अंकमा पुग्नेछ। तर पछिल्लो खेलमा काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनीमाथि दबाब थपिएको छ। बाँकी दुवै खेलमा जित निकाल्न सके उसले शीर्षस्थानमा रहेर लिग चरण समाप्त गर्ने सम्भावना पनि बलियो बनाउन सक्छ।
काठमाडौंको लक्ष्य शीर्षस्थान
चार खेलमा तीन जितसहित ६ अंक जोडेको काठमाडौं गोर्खाज पनि बलियो अवस्थामा छ। उसले चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। तीनमध्ये दुई खेल जिते काठमाडौं १० अंकमा पुग्नेछ। तीनवटै खेल जित्न सके १२ अंकसहित शीर्षस्थानको दाबेदार बन्नेछ। विशेषगरी चितवन र सुदूरपश्चिमसँगको प्रतिस्पर्धा काठमाडौंका लागि अंक थप्ने अवसर मात्र नभई प्रत्यक्ष प्रतिस्पर्धीको प्लेअफ यात्रामा समेत प्रभाव पार्ने खेल हुनेछ।
सुदूरपश्चिम र चितवनलाई अवसरसँगै दबाब
अघिल्ला दुई संस्करणमा लिग चरणमा प्रभावशाली प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्स यसपटक पनि ६ अंकसहित शीर्ष तीनमा छ। तर बाँकी दुई खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले उसको प्लेअफ यात्रा अझै निश्चित भइसकेको छैन। चितवन राइनोजका लागि भने तीन खेल बाँकी छन्। काठमाडौं, जनकपुर र कर्णालीसँगको प्रतिस्पर्धामा जित निकाल्न सके चितवनले प्लेअफमा स्थान सुरक्षित गर्नुका साथै अंकतालिकामा माथि उक्लने अवसर पाउनेछ।
चार अंकका तीन टोलीबीच कडा प्रतिस्पर्धा
जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्स समान ४ अंकसहित प्लेअफ दौडमा छन्। यी तीन टोलीका लागि बाँकी खेल जित्नु मात्रै पर्याप्त नहुन सक्छ, अन्य टोलीको नतिजा र नेट रनरेटसमेत निर्णायक बन्न सक्छ। जनकपुरले सुदूरपश्चिम र चितवनसँग खेल्न बाँकी छ। दुवै खेल जिते उसको अंक ८ पुग्नेछ। तर प्लेअफमा पुग्न अन्य टोलीको प्रदर्शनसमेत अनुकूल हुनुपर्नेछ।
कर्णालीसँग भने पोखरा, लुम्बिनी र चितवनविरुद्ध तीन खेल बाँकी छन्। तीनवटै खेल जित्न सके कर्णाली १० अंकमा पुग्नेछ। त्यसैले चार अंक भएका टोलीमध्ये कर्णालीसँग प्लेअफ सम्भावना बलियो बनाउने तुलनात्मक रूपमा बढी अवसर छ। विराटनगर किंग्सले पोखरा र लुम्बिनीसँग खेल्न बाँकी छ। दुवै खेल जिते विराटनगर ८ अंकमा पुग्नेछ। त्यसैले अबका खेलमा जित निकाल्नु उसका लागि अनिवार्यजस्तै बनेको छ।
पोखराको प्लेअफ सपना कठिन
चार खेलमा चारै हार व्यहोरेको पोखरा एभेन्जर्स सबैभन्दा कमजोर अवस्थामा छ। कर्णाली, विराटनगर र काठमाडौंसँग तीन खेल खेल्न बाँकी रहेको पोखराले सबै खेल जिते पनि अधिकतम ६ अंक मात्रै जोड्न सक्नेछ । त्यसैले पोखराले आफ्ना बाँकी खेल जित्नुका साथै अन्य टोलीको नतिजा पनि अनुकूल हुनुपर्नेछ। अबको कुनै एक खेलमा पराजित भए उसको प्लेअफ सम्भावना थप कमजोर बन्नेछ।
आजदेखि निर्णायक प्रतिस्पर्धा
लिग चरणका बाँकी १० खेलमध्ये आज कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। आजै चितवन राइनोजले काठमाडौं गोर्खाजको सामना गर्नेछ । त्यसपछि सुदूरपश्चिम र जनकपुर, कर्णाली र लुम्बिनी, काठमाडौं र सुदूरपश्चिम तथा जनकपुर र चितवनबीच प्रतिस्पर्धा हुनेछ। अन्तिम चरणमा विराटनगर र लुम्बिनी, चितवन र कर्णाली तथा पोखरा र काठमाडौंबीचका खेलले प्लेअफको समीकरणलाई अन्तिम रूप दिनेछन्।
अहिलेको अंकतालिकाले लुम्बिनी, काठमाडौं, सुदूरपश्चिम र चितवनलाई तुलनात्मक रूपमा सहज अवस्थामा देखाए पनि उनीहरूको स्थान सुरक्षित भइसकेको छैन। चार अंक जोडेर बसेका जनकपुर, कर्णाली र विराटनगरसँग पनि प्लेअफ पुग्ने अवसर कायमै छ।
एनपीएलको तेस्रो संस्करण अब रोमाञ्चक मोडमा पुगेको छ। शीर्ष चारमा पुग्ने होड, अंकतालिकाको स्थान सुधार्ने प्रतिस्पर्धा र अन्तिम आशा जोगाउने संघर्षले बाँकी खेललाई थप महत्त्वपूर्ण बनाएको छ। अब मैदानमा हुने प्रदर्शनले नै कसको प्लेअफ सपना पूरा हुन्छ र कसको यात्रा लिग चरणमै टुंगिन्छ भन्ने फैसला गर्नेछ।

























