
विराटनगर । मोरङको जहदा गाउँपालिकामा श्रीमती र एक भारतीय नागरिकले रड प्रहार गर्दा एक पुरुषको हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा मृतककी श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मृत्यु हुनेमा जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन् । प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे सोरेनमाथि उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतका २७ वर्षीय सुनील मिश्रले टाउकोमा फलामको रड प्रहार गरेका थिए । रड प्रहारबाट गम्भीर घाइते भएका सोरेनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।
घटनालगत्तै प्रहरीले भारतीय नागरिक मिश्रलाई पक्राउ गरेको थियो भने मृतककी श्रीमती कमली फरार भएकी थिइन्। प्रहरीले खोजी गर्ने क्रममा उनलाई समेत पक्राउ गरेको जनाएको छ।
सोरेनमाथि रड प्रहार गरी हत्या गर्नुको कारण भने खुल्न सकेको छैन। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

























