
काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातादेखि चाँदीको चरम अभाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मुख्य स्रोत बजार दुबई (यूएई) बाट आयात ठप्प भएपछि बजारमा चाँदीको हाहाकार मच्चिएको हो।
महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार भारतीय बजारमा चाँदीको माग ह्वात्तै बढेका कारण त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ। ठूलो परिमाणमा अर्डर गर्ने भारतीय बजार सप्लायर्सको प्राथमिकतामा पर्दा दुबईबाट नेपालका लागि चाँदी पाउन मुस्किल भएको उनी बताउँछन्। हाल सिटिजन्स, प्रभु र कुमारी बैंक आयातको ‘पाइपलाइन’ मा भए पनि कुमारी बाहेक अन्य बैंकले चाँदी ल्याउन सकेका छैनन्।
अन्तर्राष्ट्रिय बजारमा चाँदीलाई भविष्यमुखी लगानी र रणनीतिक धातुका रूपमा हेर्न थालिएकाले विश्वभर नै यसको भण्डारण बढेको छ। शक्ति राष्ट्रहरूले ‘स्टोर’ बढाउँदा र भारतीय लगानीकर्ताहरू यसतर्फ आकर्षित हुँदा नेपालमा दैनिक ४ देखि ५ सय किलो हुने खपत धान्न समेत धौ-धौ परिरहेको व्यवसायीहरूको अनुभव छ।

























