
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ चोटग्रस्त भएकी छन् । अस्ट्रेलियन ‘ए’ लिग फुटबलमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी ‘साम्बा’ भण्डारीले घुँडाको गम्भीर चोटका कारण ‘ए’ लिगको बाँकी खेल गुमाउने भएकी हुन् ।
ब्रिसबेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको छ । एमआरआई परीक्षणपछि उनको पुरानै एसीएल ग्राफ्ट पुनः टियर भएको पुष्टि भएको क्लबले जनाएको छ ।
साम्बाले सन् २०२१ मा पनि दाया घुँडाको शल्यक्रिया गराएकी थिइन् । अब उनी ९ देखि १२ महिनासम्म मैदान बाहिर रहने छिन्।
वेलिङ्टन फिनिक्सकी प्रशिक्षक बेभ प्रिस्टम्यानले साम्बा उत्कृष्ट खेलाडी मात्र नभई सबैले माया गर्ने व्यक्ति भएको बताउँदै टोली उनको चोटबाट निकै दुःखी भएको भनिन् । साम्बाले छिटो फर्कने दृढ इच्छा देखाएको पनि उनले बताइन् ।

























