
भद्रपुर । नेपालमा तल्लो तह (ग्रासरुट) बाटै फुटबल खेलको विकास गर्ने उद्देश्यले विश्व फुटबलको सर्वोच्च संस्था फिफाले उपलब्ध गराएको फुटबल झापामा वितरण गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मार्फत प्राप्त एडिडास ब्रान्डका फुटबलहरू शुक्रबार भद्रपुरस्थित मेची रंगशालामा आयोजित एक समारोहका बीच वितरण गरिएको हो।
एन्फाले सञ्चालन गरेको ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमअन्तर्गत आवेदन दिएका र छनोटमा परेका झापाका दुई दर्जन विद्यालयलाई फुटबल हस्तान्तरण गरिएको छ। झापा जिल्ला फुटबल संघका अध्यक्ष एवं प्रशिक्षक भगिरथ आले ‘मामा’ को अध्यक्षतामा भएको कार्यक्रममा एन्फाका केन्द्रीय अध्यक्ष पंकजविक्रम नेम्बाङले विद्यालयका प्रतिनिधिहरूलाई फुटबल प्रदान गरे।
कार्यक्रमका प्रमुख अतिथि नेम्बाङले फिफाको यो सहयोगले विद्यालयस्तरबाटै सक्षम फुटबल जनशक्ति उत्पादन गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। समारोहमा दक्षिण एसियाली फुटबल महासंघका महासचिव पुरुषोत्तम कट्टेल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ ले एन्फाको यस पहलकदमीको प्रशंसा गरे।
विशिष्ट अतिथिहरू एन्फा उपाध्यक्ष दावा लामा, दिपक खतिवडा र भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले पनि फुटबल वितरणले नानीबाबुहरूमा खेलप्रति रुचि जगाउने बताए। जिल्ला फुटबल संघका उपाध्यक्ष मनिष दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य गोपाल पोखरेलले गरेका थिए। फिफाले विश्वका केही सीमित मुलुकहरूमा मात्र यो कार्यक्रम सञ्चालन गरेको र नेपालले पनि यो अवसर पाउनु गौरवको कुरा भएको अध्यक्ष आलेले जानकारी दिए।

























