
काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार मुलुकको विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च विन्दुमा पुगेको छ। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको वित्तीय विवरणले कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब रुपैयाँ पुगेको देखाएको हो। यो रकम गत असार मसान्तको २६ खर्ब ७७ अर्ब रुपैयाँको तुलनामा १९.६ प्रतिशतले बढी हो।
अमेरिकी डलरको सञ्चितिमा पनि उल्लेख्य सुधार देखिएको छ। पाँच महिनाको अवधिमा १३.५ प्रतिशतले वृद्धि भई डलर सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ। अहिलेको यो सञ्चिति नेपालको आयात क्षमताका आधारमा निकै बलियो मानिएको छ, जसले २१.७ महिनाको वस्तु र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग ३ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको छ। यसैगरी, कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २२.२ प्रतिशत रहेको छ। यो बढ्दो सञ्चितिले मुलुकको बाह्य क्षेत्रको स्थायित्व र आर्थिक सुरक्षामा ठूलो टेवा पुर्याउने देखिएको छ।

























