
काठमाडौं । अब बैंकमार्फत चेक प्रयोग गरी १ पटकमा ५ लाख रुपैयाँसम्म मात्र नगद झिक्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गर्दै १० लाख रूपैयाँको सीमा घटाएर ५ लाखमा सीमित गरेको हो । नयाँ व्यवस्थाअनुसार ५ लाख रूपैयाँभन्दा बढी रकमको चेक जारी गर्दा अनिवार्य रूपमा ‘एकाउन्ट पेयी’ हुनुपर्नेछ ।
यस्तो चेकमार्फत रकम सिधै सम्बन्धित व्यक्तिको खातामा मात्र जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । नगद झिकेर कारोबार गर्ने अभ्यासलाई निरुत्साहित गर्दै सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय लिइएको राष्ट्र बैंकले जनाएको छ ।
सरकारले हालै नगद कारोबारको सीमा १० लाखबाट ५ लाख रूपैयाँमा घटाएसँगै केन्द्रीय बैंकले पनि चेक कारोबारसम्बन्धी कडा नियम बनाएको हो । अब कुनै पनि व्यक्ति वा संस्थाले हरेक पटक नगद कारोबार गर्दा ५ लाख रूपैयाँभन्दा कम मात्र गर्नुपर्नेछ ।
५ लाखभन्दा बढी रकमको कारोबार गर्नुपरेमा अनिवार्य रूपमा ‘एकाउन्ट पेयी’ चेक प्रयोग गर्नुपर्ने व्यवस्था लागू भएको छ । यद्यपि, यो नियमले परिवारिक सामाजिक कार्यका लागि नगद संकलन गर्नुपरेको अवस्थामा वा व्यापारिक गतिविधिबाट स्वाभाविक रूपमा नगद प्राप्त हुने अवस्थालाई भने असर नगर्ने स्पष्ट गरिएको छ ।
वित्तीय प्रणालीलाई पारदर्शी बनाउने र अनौपचारिक नगद कारोबार नियन्त्रण गर्ने लक्ष्यका साथ यस्तो व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ ।

























