
बेलबारी । मोरङको बेलबारीमा जारी ‘दोस्रो बेलबारी महोत्सव’ को तेस्रो दिन आइतबार (आज) चर्चित गायिका एलिना चौहानले आफ्नो साँगीतिक प्रस्तुति दिने भएकी छिन् ।
बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा गत पुस २५ गतेदेखि सुरु भएको महोत्सवको आजको मुख्य आकर्षणका रूपमा गायिका चौहान रहने आयोजकले जनाएको छ । उनले आफ्ना लोकप्रिय गीतमार्फत बेलबारीवासीलाई मनोरञ्जन प्रदान गर्नेछिन् ।
स्थानीय व्यापार, कृषि र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न व्यावसायिक स्टलहरूका साथै दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ । आज साँझ ६ बजेदेखि महोत्सव स्थलमा पस्न आयोजकले अनुरोध गरेको छ ।
महोत्सव अवधिभर उल्लेख्य संख्यामा दर्शकहरूको उपस्थिति रहने र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास आयोजक बेलबारी उद्योग वाणिज्य संघले लिएको छ ।

























