
काठमाडौँ । बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पछिल्लो समय ऋणपत्र निष्कासनलाई तीव्रता दिएको छ। रिभर्स रिपो र निक्षेप संकलन उपकरणभन्दा ऋणपत्रलाई प्राथमिकता दिँदै केन्द्रीय बैंकले आज मंगलबार पुनः २० अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ज’ जारी गरेको हो। हिजो सोमबार मात्रै २५ अर्बको बन्ड जारी गरेको बैंकले २४ घण्टा नबित्दै पुनः अर्को ठूलो रकम बजारबाट उठाउन लागेको हो। यो चालु आर्थिक वर्षको आठौँ पटकको ऋणपत्र निष्कासन हो।
यस ऋणपत्रमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमसम्मका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकले यसपटक नियम पालनामा निकै कडाइ गरेको छ। यदि ऋणपत्र निष्कासन हुने दिन बैंकहरूको खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत बोल रकम रद्द गरिनेछ। यस्तो अवस्थामा सम्बन्धित बैंकलाई २.५० प्रतिशत हर्जना तिराउनुका साथै आगामी ६ महिनासम्म ब्याजदर करिडोर र खुला बजार कारोबारका कुनै पनि प्रक्रियामा सहभागी हुन बन्देज लगाइनेछ।
वि.सं. २०५३ सालदेखि ऋणपत्र जारी गर्न सुरु गरे पनि राष्ट्र बैंकले लामो समयसम्म यसलाई खासै प्राथमिकतामा राखेको थिएन। तर अहिले बजारमा रहेको पैसालाई अलि लामो समयसम्म व्यवस्थापन गर्न भन्दै बैंकले अल्पकालीन उपकरणको साटो एक वर्षे अवधिको ऋणपत्रलाई मुख्य अस्त्र बनाएको देखिन्छ।

























