
विराटनगर । विराटनगरमा ‘प्रथम विराटनगर क्रिकेट टी २० लिग’ प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको छ ।
विराटनगर महानगरपालिका –६ स्थित मेरीलेबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा माघ २ गतेदेखि हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको नेपाल क्रिकेट फाउन्डेसनले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले विराटनगर र कोशी प्रदेशकै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । उनले प्रदेशमा पहिलो पटक नयाँ ढंगबाट सबैलाई समेट्ने तरिकाले प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
प्रतियोगितामा भाग लिने ८ वटा टोली विराटनगरकै रहेका छन् । प्रत्येक टोलीमा यु १६ का १ जना, यु १९ का २ जनाका साथै मोरङ जिल्ला बाहिर तर, कोशी प्रदेशभित्रका अन्य जिल्लाको कम्तीमा २ जना र बढीमा ३ जना खेलाडी अनिवार्य राख्नु पर्ने प्रावधान बनाएको बताउँदै, अध्यक्ष श्रेष्ठले भने, ‘विराटनगरको मात्रै नभई कोशी प्रदेशकै क्रिकेट खेलको विकास हुन्छ भन्ने अपेक्षा लिएर पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो । हाम्रो संस्थाले प्रदेशमा क्रिकेट खेलको विकासका लागि क्रिकेटको कोशी प्रदेश संघसँग सहकार्य गरेर आयोजना गरेका हौँ । यो खालको प्रतियोगिता प्रदेशमै पहिलो हो ।’

त्यस्तै, कोशी प्रदेश क्रिकेट एसोसिएसनका अध्यक्ष सर्वजितराज पाण्डेले प्रदेशमा नवीनतम प्रयोग गर्न लागेको जानकारी दिए । उनले यो लिगमा विराटनगर वा मोरङकै मात्रै नभई कोशी प्रदेशका अन्य जिल्लाबाट प्रतिनिधित्व होस् भनेर सहभागी क्लबमा अन्य जिल्लाका खेलाडीको अनिवार्यता गरेका छौं ।
क्रिकेटको गतिविधि शून्य भएका अवस्थामा दुवै संस्थाबीच सहकार्यमा प्रतियोगिताको सुरुवात गर्दै प्रदेशभर गर्ने योजना बनाएका छौं । जसले गर्दा क्रिकेटको गतिविधि चलायमान हुन्छ । यसले भविष्यमा कोशीको प्रतिनिधित्व गर्न सक्ने एउटा टिम तयार हुन्छ भन्ने अपेक्षाका साथ प्रतियोगिता गर्न लगेको पाण्डेले बताए ।
माघ १० गतेसम्म हुने प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ । समूह ‘ए’मा मिल्स क्रिकेट क्लब, विराट क्रिकेट एकेडेमी, एलाइट क्रिकेट क्लब र विराटनगर क्रिकेट क्लब एसोसिएसन तथा समूह ‘बी’ मा लायन क्रिकेट एकेडेमी, सिद्धार्थ क्रिकेट क्लब, कटहरी क्रिकेट क्लब र डाइनामिक क्रिकेट एसोसिएसनको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले नगद १० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् भने व्यक्तिगत पुरस्कारसमेत रहेको आयोजकले जनाएको छ ।

























