
विराटनगर । विराटनगरको एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि वार्षिक स्पोर्ट्स मीट सुरु भएको छ। सप्ताहव्यापी रूपमा सञ्चालन हुने यस कार्यक्रमको पहिलो दिन आज नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि विभिन्न खेलकुद स्पर्धाहरू आयोजना गरिएका छन्।
विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार पहिलो दिन साना बालबालिकाहरूका लागि ब्यालेन्स रेस, स्वीट रेस, म्यूजिकल चेयर, स्वीटर रेस र वेट पौरिङ जस्ता खेलहरू सञ्चालन भइरहेका छन्। त्यस्तै यूकेजीका विद्यार्थीहरूका लागि बेलुन फुटाउने, रेडि टु स्कुल र ५० मिटर दौडका स्पर्धा राखिएका छन् भने कक्षा १ का लागि बोतल भर्ने, म्याथ रेस र सियोमा धागो छिराउने प्रतियोगिता तय गरिएको छ।
कक्षा २ र ३ का विद्यार्थीहरूले ५० र १०० मिटर दौडका साथै म्याथ रेस र मार्वल एण्ड स्पून रेसमा प्रतिस्पर्धा गर्ने डंगोलले जानकारी दिइन्। स्पोर्ट्स मीट अन्तर्गत कक्षा ४ र ५ का लागि १०० र २०० मिटर दौड र म्याथ रेस समावेश गरिएको छ भने कक्षा ६ र ७ का लागि लङजम्प र रिले दौडका स्पर्धाहरू हुने विद्यालयले जनाएको छ।
माथिल्लो कक्षा ८ र ९ का विद्यार्थीहरूका लागि भने लङजम्प, ज्याभ्लिन थ्रो, सटपुट, भलिबल र ट्रिपलजम्प जस्ता थप चुनौतीपूर्ण खेलहरू तय गरिएका छन्। आगामी माघ ७ गतेसम्म सञ्चालन हुने यस स्पोर्ट्स मीटका विजेता खेलाडीहरूलाई विद्यालयको वार्षिकोत्सवका अवसरमा विशेष पुरस्कार प्रदान गरिनेछ।

























