
बिर्तामोड । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या उत्साहजनक रूपमा बढेको छ। निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना हुन लागेको यस प्रतियोगिताका लागि हिजोसम्ममा एक सयभन्दा बढी नयाँ सदस्य थपिएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिएका छन्।
यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सदस्यता अभियान पुस महिनाबाट सुरु गरिएको थियो। सदस्यता बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीहरूले समेत चासो देखाएका छन्। गोल्डकपलाई दीर्घकालीन रूपमा अघि बढाउने उद्देश्यले खुला गरिएको सदस्यताका लागि पुरुषका लागि १५ हजार र महिलाका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
गोल्डकपका कोषाध्यक्ष चन्द्रमणि कट्टेलका अनुसार सदस्य बन्नेहरूलाई प्रतियोगिताका दौरान विशेष सुविधा उपलब्ध गराइनेछ। कूल १५ लाख रुपैयाँ पुरस्कार राशिको यस प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुने तय भएको छ। उपविजेताले नगद आठ लाख रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली, आयोजक झापा ११, र नेपालका तीनवटा ए डिभिजन क्लबहरूको सहभागिता रहनेछ। यस्तै, अन्तर्राष्ट्रिय टोलीका रूपमा भारत, भुटान र मलेसियाका एक–एक टिमले समेत प्रतिस्पर्धा गर्ने अध्यक्ष गिरीले बताए। झापा गोल्डकपलाई मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रूपमा लिने गरिन्छ।

























