
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (माघ ४ गते) अन्तिम दिन हो। कम्पनीले गत पुस २९ गतेदेखि कुल ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सम्हालेको छ।
कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोअर सोलु जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ। आयोजनाले २०८२ साउन २४ गतेदेखि नै व्यापारिक उत्पादन सुरु गरिसकेको छ। यो त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यसमा विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको समेत लगानी छ।
कम्पनीमा गोविन्दलाल संघाई (८.१६%), नितेश अग्रवाल (७.०९%) र रामचन्द्र संघाई (४.९३%) को शेयर लगानी छ। सुवाष चन्द्र संघाई कम्पनीका अध्यक्ष हुन्। सुरुमा भारतीय कम्पनी एसेल इन्फ्राप्रोजेक्ट्स लिमिटेडको बहुमत स्वामित्व रहेको यस आयोजनामा पछि नेपाली लगानीकर्ताहरूले स्वामित्व खरिद गरेका हुन्। कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

























