
विराटनगर । मुलुकको तरल राजनीतिक अवस्था र आगामी फागुन २१ गतेका लागि तय गरिएको ‘अर्ली इलेक्सन’ (मध्यावधि निर्वाचन) प्रति कोशी प्रदेशका उद्योगी व्यवसायीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। निर्वाचनको घोषणा भइसकेको अवस्थामा यसलाई नधकेल्न सुझाव दिँदै उनीहरूले निर्वाचन खर्चिलो हुँदा र दलीय विभाजन बढ्दा औद्योगिक क्षेत्रमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका छन्।
तोकिएको समयमै चुनाव हुनुपर्छ: राजेन्द्र राउत
नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन आवश्यक भए पनि २०८४ मा हुनुपर्ने चुनाव अगाडि सर्दा उद्योगीहरूको पूर्वयोजनामा ठेस पुगेको बताए।
उनले भने, ‘हामीले २०८४ को लक्ष्य राखेर उत्पादन र लगानीको योजना बनाएका थियौं। आर्थिक अवस्था जर्जर भएको बेला अचानक निर्वाचन हुँदा बजारमा प्रत्यक्ष प्रभाव देखिन्छ। तर अब घोषणा भइसकेको निर्वाचन सार्नु हुँदैन, यसले झन् अस्थिरता निम्त्याउँछ।’ राउतले दलहरू विभाजन हुनुले मुलुकलाई थप अन्यौलतर्फ धकेल्ने समेत उल्लेख गरे।
चन्दा आतंक र श्रमिक परिचालनको डर: भीम घिमिरे
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले निर्वाचनको माहोलसँगै उद्योगीहरूमा ‘चन्दा आतंक’ सुरु भइसकेको गुनासो गरे। निर्वाचन भड्किलो बन्दै जाँदा उद्योगीहरूलाई आर्थिक दबाब बढेको उनको दाबी छ।
‘निर्वाचनका नाममा दलहरूले श्रमिकलाई उम्मेदवार बनाउने र आमसभामा उतार्ने गर्दा उद्योगको उत्पादन ठप्प हुने स्थिति छ,’ घिमिरेले भने, ‘जेन-जी आन्दोलनपछि दलहरूमा देखिएको टुटफुटले झन् अस्थिरता बढाएको छ। प्रमुख दलहरू एकै ठाउँमा नभई मुलुकमा स्थायित्व सम्भव छैन।’
निजी क्षेत्रमा निराशा र अन्यौलता: नवीन रिजाल
मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नवीन रिजालले राजनीतिक दलहरूको फुटले मुलुकमा आगामी ५ वर्षसम्म स्थिरता नआउने दाबी गरे। निर्वाचन महँगो हुँदै जाँदा त्यसको भार उद्योगीले बोक्नुपर्ने बाध्यता रहेको उनले बताए। रिजालले दलहरूलाई चन्दाको सट्टा लेबी वा अन्य पारदर्शी माध्यमबाट खर्च जुटाउन सुझाव दिएका छन्।
परिवर्तनलाई अवसरका रूपमा लिनुपर्छ: महेश जाजु
यता, एशियन थाइ फुड्सका सञ्चालक महेश जाजु भने वर्तमान परिवर्तनलाई समयको माग ठान्छन्। नयाँ पुस्ताको चाहना अनुसार भएको यो परिवर्तनले दीर्घकालमा सकारात्मक सन्देश दिने उनको बुझाइ छ। जाजु भन्छन्, ‘अर्थतन्त्र खराब अवस्थामा छ, तर यसलाई चिर्न पनि परिवर्तन आवश्यक थियो। बैंकमा पुँजी थुप्रिएको छ तर लगानीको वातावरण छैन। सरकारले अब नयाँ पुस्ताको माग र लगानीको वातावरण निर्माणमा ध्यान दिनुपर्छ।’
कोशीका उद्योगीहरूले निर्वाचनलाई लोकतान्त्रिक प्रक्रिया माने पनि यसले निम्त्याउने आर्थिक भार, चन्दा आतंक र औद्योगिक श्रम शक्तिको दुरुपयोगप्रति गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले राजनीतिक दलहरूलाई जिम्मेवार बन्न र चुनावी प्रक्रियालाई उत्पादनमुखी क्षेत्रमा असर नपर्ने गरी सम्पन्न गर्न आग्रह गरेका छन्।

























