
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले बुधबार फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य बुधबार एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ। मंगलबार यो प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ तोकिएको छ। नेपाली बजारमा कायम भएको सुनको यो मूल्य हालसम्मकै उच्च बिन्दु हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै आन्तरिक बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको हो।
सुनसँगै चाँदीको मूल्य पनि इतिहासकै महँगो भएको छ। बुधबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको मूल्य ५ हजार ७६ रुपैयाँ कायम गरिएको छ। पछिल्लो समय सुन र चाँदीको मूल्यमा भइरहेको निरन्तरको वृद्धिको क्रमले बजारमा नयाँ कीर्तिमान थपिरहेको छ।

























