
विराटनगर । ‘१२ औँ हिसान स्पोर्ट्स मिट’ माघ १० गतेदेखि विराटनगरमा हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल मोरङ (हिसान मोरङ)ले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १० गतेदेखि हिसान स्पोर्ट्स मिट हुने जानकारी गराएको हो ।
‘शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने मूल नाराका साथ हिसान मोरङले सप्ताहव्यापी खेलकुद महोत्सव (प्रतियोगिता) आयोजना गरेको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए ।
२०६५ सालमा नेपालमै पहिलो पटक हिसान मोरङले विराटनगरमा खेल र खेलाडीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘हिसान स्पोर्ट्स मिट’ को आयोजना गरेको थियो ।
खेलकुदको माध्यमबाट अनुशासन, स्वस्थ, धूम्रपान, मद्यपान तथा लागुपदार्थको कुलतबाट युवाहरूलाई बचाइ राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने मुख्य उद्देश्य रहको बताउँदै, अध्यक्ष ढकालले भने, ‘खेलकुदको माध्यमबाट हिसानको मात्रै नभई देशकै नाम संसारभर चिनाउने कामको एउटा खुड्किलो बनाउने काम हिसान गरेको हो । विभिन्न समय समस्या आए पनि यसलाई निरन्तरता दिँदै आएको छौँ ।’
निजी विद्यालयबीच मात्रै खेलकुद भयो सामुदायिक विद्यालयलाई पनि समावेश गरेर प्रतियोगिता गर्दा राम्रो हुन्थ्यो । त्यहाँका खेलाडीले आफ्नो खेल प्रदर्शन गर्ने अवसर पाउँथे भन्ने गुनासोलाई सम्बोधन गर्ने गरी हिसान मोरङले केही सामुदायिक विद्यालयलाई समावेश गरेर लैजाने कि भनेर छलफल भइरहेको, अध्यक्ष ढकालले बताए । सामुदायिक विद्यालयका विद्यार्थी पनि हाम्रै विद्यार्थी जस्तै हुन्, त्यहीँ भएर उनीहरूलाई यस नभए अर्को वर्षदेखि समावेश गरेर प्रतियोगिता आयोजना गर्ने सोच रहेको, अध्यक्ष ढकालले प्रस्ट्याए ।
माघ १० देखि १७ गतेसम्म विराटनगरका विभिन्न स्थानमा फुटबल (पुरुष / महिला), क्रिकेट, बास्केटबल, भलिबल (पुरुष / महिला), कबड्डी, एथलेटिक्स (पुरुष / महिला) र टेबल टेनिस (पुरुष / महिला)का खेलहरू हुने छन् । प्रतियोगितामा हिसान मोरङ आवद्ध ३२ विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता तथा उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने खेलाडीले सबै खेलमा व्यक्तिगत पुरस्कारसमेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापनका अवसरमा प्रत्येक विद्यालयको कक्षा ११ को वार्षिक परीक्षामा प्रथम हुने छात्र / छात्रालाई जनही ५ हजार रुपैयाँका साथ सम्मान गरिने छ । हिसान स्पोर्ट्स मिटको अनुमानित खर्च ३० लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

























