
विराटनगर । विराटनगरमा जारी ‘प्रथम विराटनगर क्रिकेट लिग’ प्रतियोगिताको उपाधिका लागि सिद्धार्थ स्पोर्टिङ क्लब र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको समूह ‘बी’ को १ खेल बाँकी छँदै समूह ‘ए’ बाट विराटनगर र समूह ‘बी’ सिद्धार्थ फाइनलमा पुगेको हो ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा बिहीबारको खेलमा विराट क्रिकेट एकेडेमी र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमी विजयी भएका छन् ।
दिनको पहिलो खेल समूह ‘ए’ को खेलमा विराट क्रिकेट एकेडेमीले मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीलाई ५ विकेटले पराजित गर्दै लिगको दोस्रोमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
टस जितेर ब्याटिङको थालेको मिल्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९७ रनको चुनौती प्रस्तुत गरेको थियो । अमन शेखले ३० रन, रितिक चौधरीले १९ रन, सक्षम ढकालले १७ रन र डेनिस राजाले १५ रन बनाए । विराटनगरका महबुब इराकी र अमर यादवले २–२ विकेट लिए ।
जवाफमा ९८ रनको लक्ष्य पछ्याएको विराटले १५ ओभर १ बलमा ५ विकेट गुमाउँदै विजयी हासिल गर्यो । श्रवण यादवले २३ रन, दीपक पासवानले १८ रन, विशाल ढकालले १७ रन, अनिष राजवंशीले १६ रन र रोहन साहले ११ रन बनाए । मिल्सका वैभव राजले २ विकेट लिँदा नरेन्द्र कर्ण १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराटका महबुब इराकी भए ।
दोस्रो खेलमा विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीले इलाइट क्रिकेट एकेडेमीलाई १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ । समूह ‘ए’ मा लगातार ३ खेलमा जित निकाल्दै ६ अंकका साथ फाइनलको यात्रा तय गरेको हो । विराटले ३ खेलमध्ये २ खेलमा जित र १ खेलमा पराजित हुँदै ४ अंकका साथ दोस्रो स्थान, इलाइटले ३ खेलमा १ मा जित र २ पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
टस जितेर ब्याटिङको गरेको इलाइटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रनको योगफल तयार बनायो । आशिष मण्डलले ३२ रन र सोनु सिंहले १७ रन बनाए । विराटनगरका रितिक कामतले ३ विकेट लिँदा सागर कटवाल र कृश शर्माले २–२ विकेट लिए ।
१ सय रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ५ बलमा ९ विकेटको क्षतिमा विजयी भयो । सीताराम कामतले २७ रन, कृश शर्माले १७ रन बनाए । इलाइटका मनिष कामत र राजु विश्वकर्माले ३–३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराटनगरका सीताराम कामत भए ।



















