
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी आर्थिक गतिविधिलाई नियन्त्रण गर्न सरकारले नगदमा कारोबार गर्न पाइने सीमा घटाएको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको र गलत तरिकाले आर्जन गरिएको ‘कालो धन’लाई ‘सेतो’ बनाउने माध्यमका रूपमा केही निकायहरू प्रयोग भइरहेकाले यसलाई रोक्न सरकारले कडा कदम चालेको उनले स्पष्ट पारे। अर्थमन्त्री खनालले अब परम्परागत भौतिक मुद्रा (फिजिकल करेन्सी) को साटो भर्चुअल करेन्सी र भौतिक बैंकिङ पहुँचको साटो भर्चुअल बैंकिङ एक्सेसतर्फ जानुपर्नेमा जोड दिए। बैंक तथा वित्तीय संस्थाहरूले अन्य निकायको तुलनामा राम्रो काम गरेको भए पनि अझै सावधान रहनुपर्ने उनको भनाइ थियो।
मन्त्री खनालले अबको बैंकिङ प्रणाली धितोमा मात्र आधारित हुन नहुने बताए। उनले उद्यमशीलता, क्षमता र आय आर्जन गर्ने खुबीका आधारमा कर्जा लगानी गर्ने विधिबारे अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच छलफल भइरहेको जानकारी दिए। वित्तीय क्षेत्र अहिले नै कमजोर नरहेको उल्लेख गर्दै उनले समय-समयमा आउने सानातिना समस्याहरूलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।

























